इनरुवा । सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सुपौलका १९ वर्षीय अमरकुमार मेहता रहेका छन् ।

सोमबार बिहान कोसी ब्यारेजको १ नम्बर ढोका छेउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका मेहतालाई खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको थियो ।

नदीमा पानीको वेगका कारण स्थानीयको प्रयास सम्भव नभएपछि गोताखोर टोली झिकाएर खोजी गर्ने क्रममा मेहताको शव बालुवामा गाडिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीका प्रमुख एसपी लकेश तुम्बाहाम्फेले जानकारी दिए । एसपी तुम्बाहाम्फेका अनुसार मेहता नदीमा नुहाएर छेउमै रहेको शिव मन्दिरमा जल चढाउने क्रममा थिए । सोही क्रममा नदीमा नुहाउने क्रममा डुबेका उनी बेपत्ता भएका थिए ।

एसपी तुम्बाहाम्फेले वराहक्षेत्रको रानी खोलाले बगाएका दुई जनालाई भने सकुशल उद्धार गरिएको बताए । उनका अनुसार खोलाले चालकसहित दुईवटा मोटरसाइकल बगाएको थियो । सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरीको टोलीले खोलाले बगाउँदै लगेको अवस्थामा धरानका पासाङ शेर्पा र बर्जुका सत्यनारायण चौधरीलाई उद्धार गरेको एसपी तुम्बाहाम्फेले बताए ।