विजयपुर । नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिले धरान उपमहानगरपालिकालाई डेङ्गुको औषधि प्रदान गरेको छ ।

धरानमा डेङ्गु नियन्त्रण तथा उपचारमा सहयोग पुर्याउन समितिले स्वास्थ्य महाशाखालाई डेङ्गु परिक्षण गर्ने किटसहित औषधी प्रदान गरेको हो । सोमबार समतिले नगर कार्यालय परिसरमा कार्यक्रम गरी स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहतासहितको समूहलाई औषधि प्रदान गरेको हो ।

नेपाली काङ्ग्रेस धरान नगर समितिका सचिव हिमाल श्रेष्ठका अनुसार सिटामोल २ हजार ९५० पत्ता, जिवनजल १ हजार ७०० सय प्याकेट प्रदान गरेको हो । यस्तै,डेङ्गु रोगको टेष्ट किट २ सय थान र स्लाइन पानीका आवश्यक सामाग्रीहरुसहित २ लाख बराबरको औषधि प्रदान गरेको सचिव श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डेङ्गु महामारीको फैलिएकाले नियन्त्रणका लागि औषधिसहित अन्य सामाग्री प्रदान गरेका हौँ ।’

कार्यक्रम नगर सभापति श्याम पोखरेलले एकद्वार प्रणालीबाट २० वटै वडाका जनतालाई उपलब्ध गराउने उद्देश्यले महाशाखालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । उनले वडाहरूमा काङ्ग्रेस कार्यकर्ताहरू परिचालन गरी आधारभूत स्वास्थ्य सामाग्री वितरण भई रहेको पनि बताए ।

काङ्ग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, धरान उपमहानगरका निवर्तमान नगर प्रमुख तिलक राई, काङ्ग्रेसका महासमिति सदस्य सुवास राई, काङ्ग्रेसका पूर्व नगर सभापति किशोर राईलगायतका नेताहरूले नेपाली काँग्रेस धरानलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री महाशाखालाई हस्तान्तरण गरेको हो ।