टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलामा लगाइएको ट्रस्ट ब्रिज बाढीले बगाएपछि एक गाउँबाट अर्को गाउँ पुग्न समस्या भएको छ । 

पुल बगेपछि यहाँका बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन् । राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले जानकारी दिए । 

‘खोलामा ज्यान जोखिममा राखेर विद्यार्थी विद्यालय आउनुपर्ने स्थिति छ ।’ प्रधानाध्यापक राईले भने, ‘पुलको अभावमा बालबालिकालाई विद्यालयसम्म आउन कठिनाइ भएको छ, पानी परेको अवस्थामा उनीहरुलाई झनै जोखिम छ ।’

खोला तर्दा किताब, कपीसँगै कपडा भिज्ने गरेकोकक्षा ११ मा पढ्ने छात्र दीपक विष्टले बताए । उनले ज्यान जोमिखमा राखेर खोला तर्नुपर्ने अवस्था रहेको बताए । 

कहिलेकाहीँ बाटोमा हिँड्ने मानिसको सहायताले खोला पार गर्ने गरेको उनको भनाइ छ । 

किताब, कपीसँगै कपडा भिज्दा पठनपाठन गर्न समस्या हुने  विद्यार्थी बताउँछन् । दिनभर चिसो कपडामा बस्दा बिरामी परेको अवस्था पनि छ । कहिले किताब, कापी त कहिले जुत्ताचप्पल खोलामा बग्छन् । राउते खोला तर्ने ४०–५० जना विद्यार्थीको अहिलेको दैनिकी बनेको छ । 

अर्को ठाउँको पुलबाट विद्यालयसम्म दुई घण्टा बढी घुम्नुपर्ने अवस्था रहेको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र दुर्गाबहादुर विश्वकर्माले बताए । 

बाढीले पुलसँगै बाटो बगाउँदा बालबालिका विद्यालय जानबाट बञ्चित भएको स्थानीयवासी टंक विश्वकर्मा बताउँछन् । बालबालिकालाई बाध्य भएर जोखिममा पनि विद्यालय पठाउनुपर्ने अवस्था छ । घरको काम पनि धान्नुपर्ने भएकाले सधैँ अभिभावकले विद्यालयसम्म पुर्याउन सक्ने अवस्था नरहेको विश्वकर्माले बताए । 

बाढीले पुल बगाउँदा स्थानीयको जनजीवन निकै कष्टकर बनेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङपाहाङले राईले बताए । 

बाढीले झोलुङ्गे पुल, सडकसँगै १६ वटा सिँचाइ कुलो बगाएको उनको भनाइ छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङपाहाङले जानकारी दिए । 

‘झोलुङ्गे पुलसँगै यो खोला भएर बनेका सबै सडक बगाएको छ’, उनले भने, ‘सडक अवरोध हुँदा बालबालिका विद्यालय जान सकेका छैनन् भने सुत्केरी, ज्येष्ठ नागरिक, असक्तलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको छ ।’

खोलामा चाँडो पुल बनाउन यहाँका बासिन्दाले स्थानीय, प्रदेश र संघीय सरकारसित माग गरेका छन् ।