कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार अस्तव्यस्त भएको भन्दै कुम्मायक–१ को वडा कार्यालयको अगुवाइमा साउन २६ गते बजार व्यवस्थापन सम्बन्धी बैठक बस्यो । वडा कार्यालयमा बसेको गाउँपालिका, व्यवसायी र राजनीतिक दल र पत्रकारसहितको बैठकले विभिन्न निर्णय ग¥यो । त्यस मध्येको महत्वपूर्ण विषय यासोक बजार व्यवस्थापन थियो । बजारको नाली, सडकमा राखिएका घर निर्माण र व्यवसायिक प्रयोजनका सामाग्री हटाउन साउन २९ देखि ३२ सम्म सुचना जारी गर्यो । सोहीबमोजिम बजारको सबै क्षेत्रमा सूचना जारी भयो । सूचना जारी भएको तीन दिन अर्थात् भदौ १ गते गाउँपालिका, वडा कार्यालय, प्रहरी र उद्योग वाणिज्य संघको टोली बजार अनुगमनमा निस्कियो ।
बजारमा सूचना कार्यान्वयन भए वा नभएको भन्ने विषयमा पूर्व तयारीसहित यासोक बजार अनुगमन सुरु भयो । जसको छनक पाएका केही व्यावसायीले आफैं सामान हटाए भने अधिकांशले हटाएनन् । गाउँपालिकाले निर्माण सामग्री, व्यावसायिक प्रयोजनका सामग्री, खानेपानीका ड्रम नियन्त्रणमा लियो । गाउँपालिकाको टोलीसँग केही व्यवसायीको घम्साघम्सी नै भयो । अन्ततः अव्यवस्थित रुपमा राखिएका सामग्री गाउँपालिकाले नियन्त्रणमा लिंदै बजार क्षेत्रमा सामग्री नराख्न निर्देशन दियो ।
विगतमा पनि पटक–पटक सूचना जारी गरी सुझाव दिने मात्रै पहल भएको थियो । तर पहिलो पटक गाउँपालिकाले बजारको सामग्री हटाउन जेसिभी र ट्याक्टरको प्रयोग गरेको थियो । व्यवसायीले सडकमा राखेको बालुवा, रड, पानीका ड्रम नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका खानेपानीका ड्रम, रड र बालुवाको विषयमा के गर्ने ? भन्ने विषयमा पुनःसर्वदलीय र सर्वपक्षीयसहित जनप्रतिनिधिको बैठकले तय गर्ने कुम्मायक–१ का वडाअध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।
बजारको व्यवस्थापनको विषयमा गाउँपालिकाले निरन्तर अनुगमन र निरीक्षण गर्ने कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले बताए । साँघुरो सडक पेटीको आसपास राखिएका सामग्रीले बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै यस्तो अभियानलाई निरन्तरता दिने लावतीको भनाइ थियो । बजार व्यवस्थापनको अभियानमा गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्कासहित प्रहरी, उद्योग वाणिज्य संघका पदाधिकारी कर्मचारी र व्यवसायीको उपस्थिति रहेको थियो ।