बिर्तामोड । तेह्रथुमको आठराई गाउँपालिकास्थित पोखरी मा.वि.को विवाद उत्कर्षमा पुगेको छ । विद्यालय व्यवस्थापन समितिलाई स्थानीय तहले काम नगर्न आदेश दिएसँगै सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गर्दै पुनर्बहाली गरेपछि उत्पन्न विवाद उत्कर्षमा पुगेको हो ।
विद्यालयका प्रधानाध्यापक देवीप्रसाद सङ्ग्रौला र व्यवस्थापन समितिका अध्यक्ष तेजमान कन्दङ्वाबीचको द्वन्द्वले विद्यालयको पठन–पाठनमा असर परेको छ । गत पुषमा व्यवस्थापन समितिको निर्वाचन भएको थियो । त्यो निर्वाचनबाट प्रदेशसभाका पुर्व माननीयसमेत रहेका कन्दङ्वा अध्यक्षमा निर्वाचित भएका थिए ।
माघमा आठराई गाउँपालिकाले शिक्षा ऐन संशोधन गरेको थियो । शिक्षा ऐन संशोधन गरेपछि सो गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयका पुराना व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति बनाउन पालिकाले निर्देशन दिएको थियो ।
पालिकाको निर्देशनबमोजिम पोखरी मा.वि. सङ्क्रान्ति र सरस्वती आधारभूत विद्यालय होडाको व्यवस्थापन समितिले भर्खरै मात्र निर्वाचित भएकोले काम गर्न दिन आग्रह गरेको थियो । पालिकाले पुराना समिति खारेज गर्ने अडान लिएपछि पोखरी मा.वि.को व्यवस्थापन समिति अन्तरिम आदेश दिनुपर्ने मागसहित सर्वाेच्च अदालत गएको थियो ।
सर्वाेच्च अदालतले चैत्र १५ गते वादीका पक्षमा अन्तरिम आदेश दिएको थियो । अदालतले अन्तरिम आदेश दिएसँगै व्यवस्थापन समितिका अध्यक्ष कन्दङ्वा र प्रधानाध्यापक सङ्ग्रौलाबीच द्वन्द्व बढेको हो । प्रअ सङ्ग्रौला भने स्थानीय तहको मातहतमा सञ्चालित विद्यालयमा स्थानीय तहकै निर्देशन कार्यान्वयन गर्नुपर्ने अडानमा छन् ।
व्यवस्थापन समितिका अध्यक्ष कन्दङ्वा भने अदालतको अन्तरिम आदेशलाई विद्यालयले सम्मान गर्नुपर्ने बताउँछन् । व्यवस्थापन समिति र प्रअबीचको द्वन्द्वका कारण यतिबेला पोखरी मा.वि.को पठन–पाठनमा असर पुगेको छ ।
पोखरी मा.वि.का पूर्व व्यवस्थापन समिति अध्यक्ष, सदस्य, विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी विवाद निरूपण हुनुपर्ने बताएका छन् । विद्यालयका पूर्व प्रअ बद्री ओलीले अदालतको आदेश मानेर शान्तिपूर्ण वातावरणमा अध्ययन गर्ने अवस्था निर्माण गर्न अनुरोध गरेका छन् ।
पूर्व शिक्षक राजेन्द्र सङ्ग्रौलाले आफूले शिक्षण गरेको विद्यालय तहस–नहस हुन लागेको भन्दै विवाद अन्त्य गर्न आग्रह गरेका छन् । ‘विद्यालय स्थापना गर्न कन्दङ्वा परिवारले गरेको योगदान आज पनि स्मरणयोग्य छ’ सङ्ग्रौलाले भने, ‘अहिलेको व्यवस्थापन समितिलाई बायस गरेर प्रअले राजनीति गर्न खोजेको देखियो ।’ आफूले लामो समय अध्ययन अध्यापन गरेको विद्यालयलाई विवादको केन्द्र नबनाउन पनि उनले आग्रह गरेका छन् ।
कोशी प्रदेशकै सबैभन्दा धेरै भौतिक सम्पत्ति रहेको विद्यालय पोखरी मा.वि. हो । हाल त्यहाँका भौतिक पूर्वाधारहरू जीर्ण बनेका छन् । यसलाई मर्मत सम्भार र नयाँ भवन निर्माणका लागि सर्वपक्षीय सहमति आवश्यक रहेको पूर्व प्रअ हरिनारायण भट्टराईको भनाइ छ ।
२०१६ सालमा स्थापना भएको पोखरी मा.वि. पूर्वकै शिक्षाको पहिलो गन्तव्य रहेको थियो । आन्तरिक विवादका कारण विद्यालयको सम्पूर्ण क्रियाकलापमा असर पुगेकाले तत्काल समाधान गर्नुपर्ने पूर्व विद्यार्थी लोकबन्धु कन्दङ्वाले बताए । उनले भने, ‘तेजमानलाई हटाउनुपर्ने कुनै कारण नै छैन ।’ सो विषयमा बोल्दै कन्दङ्वाले प्रअको हठका कारण विद्यालय विवादमा मुछिँदै गएकोले उनलाई विद्यालयबाट सरुवा गर्नुपर्ने माग गरेका छन् । कार्यक्रममा पूर्व अध्यक्ष, पूर्व विद्यार्थी, पूर्व शिक्षक तथा पूर्व प्रअ गरेर दुई दर्जन अग्रज शिक्षासेवीको सहभागिता रहेको थियो ।
विद्यालयका प्रअ सङ्ग्रौलाले भने पालिकाको निर्देशनबमोजिम काम गरेको बताए । ‘अध्यक्षले पालिकाविरुद्ध मुद्दा हाल्नु भएको हो, पालिका र उहाँबीचको द्वन्द्व हुन सक्छ, यो विषयमा मलाई केही थाहा भएन’ सङ्ग्रौलाले भने, ‘अदालतको अन्तरिम आदेशलाई गाउँपालिकाले कसरी लिन्छ, त्यसैअनुसार म अगि बढ्छु । मलाई जागिर छोड्न, नत्र ज्यान मार्नेसम्मको धम्की आउने गरेको छ ।’ आफू काममा निरन्तर क्रियाशील रहेको उनले बताए ।
कन्दङ्वा नेकपा (एमाले) का स्थानीय नेता हुन् । नेपाली काङ्ग्रेस नेतृत्वले आठराई गाउँपालिकामा नेतृत्व गरेको छ । अध्यक्ष कन्दङ्वा पालिका नेतृत्वसँग समन्वय गर्न तयार नभएकाले समस्या उत्पन्न भएको प्रअ सङ्ग्रौलाको भनाइ छ ।