भद्रपुर । भद्रपुरस्थित मानवअधिकारका लागि महिला एकल महिला समूह झापाको भवनमा सुस्त मनस्थिति भएकी बेवारिसे महिलाले जन्माएकोे शिशुलाई परिवारको जिम्मा लगाइएको छ ।
बिहीबार भद्रपुर नगरपालिका, प्रहरी प्रशासन, कानूनविद्लगायतको रोहवरमा कानूनी प्रक्रिया पूरा गरी आमा र बालक दुवैलाई महिलाको बुबा भद्रपुर–८ निवासी यानेन्द्र्र राईलाई जिम्मा लगाइएको मानवअधिकारका लागि एकल महिला समूहकी अध्यक्ष रेखा अधिकारीले जानकारी दिइन् ।
भद्रपुुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले कानूनी प्रक्रिया नपु¥याई बालक अभिभावकको जिम्मा दिएकोले आधिकारिक हो–होइन थाहा पाउन महिलाका बाबु राईलाई नाता प्रमाणित र बसाइँसराइ प्रमाण ल्याउन लगाइएको थियो । सोहीअनुसार राईले सूर्योदय नगरपालिका इलामबाट प्रमाण खुल्ने कागजात ल्याएपछि सोही प्रमाणका आधारमा शिशु जिम्मा लगाइएको प्रमुख पोखरेलले जानकारी दिए ।
घटना विवरणअनुसार साउन २६ गते जन्मिएको बालकलाई आमाले स्याहारसुसार गर्न नसक्ने भएका कारण नवजात बालकलाई कुनै कानूनी प्रक्रिया नअपनाई साउन २७ गते बिहानै हवाई मार्गमार्फत् काठमाडौँँ लगिएको थियो । यता बालकको खोजी भएपछि ३१ गते ४ बजे पुनः हवाई मार्गमार्फत् बालकलाई सुरक्षित घरमा ल्याइएको थियो । गत असारमा भद्रपुर नगरपालिकाले बेवारिसे महिला भनेर सो समूहको संरक्षणमा जिम्मा दिएको थियो । बेवारिसे भएकी महिलाको एकाएक बुबा देखिनुमा आमजनताले कुनै रहस्यमय घटना भएको शङ्का गरेका थिए ।