सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० आज सबै स्थानीय तह र प्रदेश सरकारले मनाउँदैछ्न् । यस वर्षको आदर्श वाक्य ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ तय गरिएको छ ।

इतिहासको संरक्षण र संवर्द्धन गर्ने थलो  पुस्तकालय भएकाले सूचना प्रविधिको व्यापकतासँगै विद्युतीय पुस्तकालयसम्मको अवधारणालाई कार्यान्वयनमा लाने सरकारको नीति छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा गत साउन २२ गते गठित समितिले ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य तय गरी दिवसको तयारी गरेको थियो ।
दिवस मनाउन गठित मूल आयोजक समितिले दिवसलाई रचनात्मकरूपमा मनाउन प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायलाई पत्राचार गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई दिवस मनाउन पत्राचार गरिएको थियो ।

केन्द्रस्तरमा काठमाडौँमा हुने दिवसको मूल समारोह समितिको आयोजनामा शिक्षामन्त्री अशोककुमार राईको उपस्थितिमा सम्मान, पुरस्कार वितरण र स्मारिका लोकार्पणलगायतका कार्यक्रम छ ।

तीनै तहका सरकारले पुस्तकालयकर्मी, अभियानकर्मी, कर्मचारी र उत्कृष्ट पाठकलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम निर्धारण गरिएको थियो ।

हाल नेपालमा शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका अतिरिक्त नौ सय २८ सार्वजनिक पुस्तकालय छन् ।

नेपालमा औपचारिकरूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पुस्तकालयको स्थापना भएको थियो ।

तस्बिर- जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवामा रहेको पुस्तकालय ।