पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जंगल खण्डमा एक महिला दुई महिनादेखि अलपत्र रहेकी छन् । जंगलमा रहेको पक्की चौतारामा उनको रातोदिन बास छ ।
‘मंगोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी ती महिला नेपाली बोल्न सक्छिन् । भारतबाट आउने कुनै गाडीबाट चारआली बजारमा उत्रिएपछि उनी जंगलको चौतारोमा लुगाकपडाको पोकोसहित बस्दै आएकी छन् ।’, सडक मानवको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले भने, ‘धरान र धनकुटामा नातेदार भएको बताउने उनले नातेदारको अहिलेको ठेगाना र नाम बताउन सक्नुहुन्न ।’
अभियन्ता मोहराले उद्धार गरेर इटहरीको मायाघर लैजान प्रस्ताव गर्दा ती महिलाले नमानेको बताए । उनी बस्दै आएको चौतारो जंगली हात्ती हिँड्ने जोखिमपूर्ण क्षेत्रमा रहेको छ । दिउँसो राजगार्गमा सवारीसाधन र बटुवा हिँड्ने गरेता पनि सो स्थानमा राति सुनसान हुने गरेको छ ।