भद्रपुर । पहिचानवादीहरूले झापाको हल्दीबारीमा १ सय १ जनाको युवा दस्ता गठन गरेको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति झापा सदस्य–सचिव सेसेहाङ फियाकको प्रमुख आतिथ्यमा मङ्गलबार युवा दस्ता गठन गरेको हो ।

जर्सीधारी युवाहरूलाई हातमा लाठी समाउन लगाएर सो दस्ता सार्वजनिक गरिएको थियो । समितिका हल्दीबारी गाउँपालिका संयोजक बुद्ध माबोको अध्यक्षता रहेको कार्यक्रममा सेसेहाङ फियाक, केवलराम राई, सामी पालुङ्वालगायतको उपस्थिति रहेको थियो ।

समितिले भदौ ३० गते १५ सय एक जनाको युवा दस्ता बिर्तामोडमा सार्वजनिक गर्ने तयारी गरेको छ । कोशी नाम खारेजीको आन्दोलनमा प्रहरी दमन हुँदै आएकाले त्यसको प्रतिकार गर्न र भ्रष्टाचारविरुद्ध अभियान गर्न सो दस्ता निर्माण गरिएको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्षसमेत रहेका सङ्घर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले बताए । उनले युवा दस्ता परिचालनका लागि आचार–संहिता निर्माण गरिएको बताउँदै त्यसलाई नमान्नेलाई कानूनी कारबाहीका लागि प्रहरीलाई जिम्मा दिने जानकारी दिए ।

पहिचानवादीहरूको गतिविधिप्रति निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले हतियारसहित भेला हुने र प्रदर्शन गर्ने गतिविधिलाई रोक लगाइने बताए । शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने अधिकारलाई सम्मान गर्दै कोही कसैले आतङकित पार्ने खालको विध्वंसात्मक गतिविधि गर्न खोजे प्रहरी प्रशासन कारबाहीमा उत्रिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले पहिचानवादीहरूको आन्दोलनलाई निगरानी गरिरहेको बताउँदै आन्दोलनका बारेमा केन्द्रको निर्देशन पर्खिरहेको जानकारी दिए ।

करिब एक साताअघि कोशी प्रदेश नाम खारेजीको मागसहित बिर्तामोडमा घरेलु हतियार प्रदर्शन गर्दै पहिचानवादीहरूले सांस्कृतिक आन्दोलन गरेका थिए । केही दिनअघि भद्रपुरमा गोरु काटेर खाएको भनी सार्वजनिक गरिएको भिडियोमा पनि सांस्कृतिक क्रान्ति गरेको भनिएको थियो । त्यस्ता गतिविधिप्रति संलग्नता नरहेको सङ्घर्ष समितिका संयोजक चौधरीले बताए । पहिचानको लागि सुरु गरेको युवा दस्ता गठन र सांस्कृतिक आन्दोलनप्रति प्रहरी प्रशासनले निगरानी बढाएको जनाएको छ ।