धरान । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत फोरजी सेवा सुरु गरेको छ । एनसेलले गत एक महिनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको थियो ।

कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हाम्रा ग्राहकहरूलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौँ । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पु¥याउनेछ ।’ उनका अनुसार मनाङ जिल्लामा पनि छिट्टै फोरजीले जोड्ने योजनासहित काम भइरहेको छ । देशभरि एनसेलको ४ हजार एक सयभन्दा बढी फोरजी बिटिएसहरू सञ्चालनमा रहेका छन् ।

गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै एक हजार चार सय ५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । एनसेलले २०७४ जेठमा काठमाडौँ उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो ।