विराटनगर । जनता समाजवादी पार्टी (जसपा) मोरङ अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई जागिरबाट हटाएको छ ।

नगर प्रहरीले विराटनगर–७ कोशी अस्पतालअगाडि स्नेहा फार्मेसीका सञ्चालकसमेत रहेका यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागू हुने गरी जागिरबाट हटाएका छन् । नगर प्रहरी हवल्दार रमेश निरौला, प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई महानगरपालिकाले हटाएको छ ।

भदौ २७ गते विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यको लागि खटिएका नगर प्रहरीले यादवलाई हातपात गरेको आरोप छ । पार्किङको विषयमा विवाद भएपछि यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै हातपात गरेका थिए । औषधि पसलअगाडि ‘नो पार्किङ’ क्षेत्रमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्विल लक लगाइदिएकोमा यादवले लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए ।

सफारी चालकले लक खोलिदिएन भन्दै गुनासो गरेपछि यादवले नगर प्रहरीलाई ‘के गरेको भाइ, जरिबाना लिने भए लिएर छाडिदिहाल्नु नि, किन दुःख दिएको’ भन्दा विवाद भएको थियो । त्यसपछि नगर प्रहरीले यादवलाई लछारपछार पार्दै पसलबाट निकालेर वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए । वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि पनि हातपात गरेका थिए ।

तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । एकै प्रकृतिको घटना हुँदा तीन जना नगर प्रहरीको जागिर खाइदिने मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने यादवलाई भने कारबाही गर्ने प्रक्रियासमेत अगाडि बढाउन नसक्दा नगर प्रहरी असन्तुष्ट देखिएका छन् । ‘चौतर्फी दबावका कारणले मेयर सा’वले एउटा निमुखा नगरप्रहरीलाई जागिरबाट हटाए । तर, प्रहरी कार्यालय अगाडी नगर प्रहरीमाथि हातपात गर्नेलाई कुनै कारबाहीको लागि प्रक्रियासमेत अगाडि बढाउन सक्नुभएन’–एक नगर प्रहरीले भने ।  

भदौ ३१ गते महानगरका प्रमुख कोइरालालाई छानबिन गरी आवश्यक कारबाही गर्ने अख्तियारी दिएको थियो । त्यसैको आधारमा कोइरालाले तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।