विराटनगर । विराटनगरमा पहिचान पक्षले मोटरसाइकल ¥यालीसहित विरोध प्रदर्शन गरेको छ ।

कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरूले मङ्गलबार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन् । सुनसरीको इटहरीदेखि मोटरसाइकल ¥यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले महेन्द्र चौकमा आएर कोणसभा गरेका छन् । ‘पहिचानको सम्मान गर, मुख्यमन्त्री राजीनामा दे, कोशी नाम मान्दैनौँ’ भन्दै नारासमेत लगाएका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारदेखि विराटनगर महानगरका केही ठाउँलाई दुई महिनासम्म निषेधित क्षेत्र तोकेको छ । प्रदेशसभा पूर्वमा रहेको देवकोटाचोकदेखि पश्चिममा कोशी अस्पताल चोक तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यस्तै रोडशेष चौकदेखि दक्षिण जतुवा चौक क्षेत्र, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालयको डाँफे चौकदेखि पूर्वतर्फलाई निषेधित क्षेत्र तोकिएको छ । २०७९ फागुन १७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधर विराटनगरलाई केन्द्र बनाएर आन्दोलनरत छन् । गत असार १५ गते कार्की नेतृत्वको सरकार ढलेको थियो भने सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । उनको राजीनामा माग्दै पहिचानपक्षधरहरूले कोणसभा गरेका थिए । कोणसभामा नौ जना पहिचान पक्षधरहरूले बोलेका थिए ।