धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) निर्वाचित भएपछि सुविधामा पाएको गाडी नचढ्ने उद्घोष गर्दै भनेका थिए – ‘म गाडी चढ्दिनँ, गाडी चढ्यो भने बाटाका खाल्डाखुल्डी देखिँदैनन् ।’ तर अभियन्ता नगर प्रमुख साम्पाङको खाल्डाखुल्डी पुर्ने अभियान सुरु नहुँदै नेपाली कांग्रेसको युवा संगठन तरुण दलले खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरेको छ ।
खानेपानी ल्याउने अभियान सकेपछि नगर प्रमुख वृक्षरोपण अभियानमा छन् । यता नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले धरानका सडकमा रहेका ६० बढी खाल्डाखुल्डी पुरिसकेको छ ।
खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरेको तरुण दलले चार दिनमा ६ वटा वडाका दर्जनौं खाल्डाखुल्डी पुरेको छ । गत भदौ ३० गतेदेखि सुरु गरेको अभियानमा चार दिनमा ६ वटा वडाका खाल्डाखुल्डी आफ्नै खर्चमा पुरिसकेको तरुण दलका उपाध्यक्ष विक्रम तामाङले बताए ।
‘धरानका बाटोहरुमा सर्वसाधारण र बाह्य पर्यटकको सवारी सुरक्षाको सुनिश्चितता र सहजतामा टेवा पुर्याउने मुख्य उद्देश्यले अभियान सुरु गरेका हौं,’ उपाध्यक्ष तामाङले भने, ‘भदौ ३० गतेबाट सुरु भएको अभियानअन्र्तगत पहिलो दिन धरानको धार्मिक एवम पर्यटकीय स्थलको बाटोमा भएको खाल्डाखुल्डी पुरेका थियौं ।’
तरुण दलले धरान १४ स्थित विजयपुर क्षेत्रका बाटाका खाडल पुरेको थियो भने दोस्रो दिन धरान १०, ११ स्थित नारायण चोक र धरान ३ स्थित चिनियाँ चोकका खाडल पुरेको थियो । असोज २ गते धरान १५ स्थित भानु मार्गका खाडल पुरेको थियो भने हिजो ३ गते धरान १० स्थित पुतली लाइन र धरान १५ स्थित सदन रोडका खाडलहरु पुरेको थियो ।
‘सवारी दुर्घटनाको मुख्य कारण सडकका खाडलहरु पनि हुन् यस विषयमा धरान तरुण दलको ध्यान आकर्षण भएको छ, धरान तरुण दलले आफनो अभियानअन्र्तगत धरान १५, १४, १०, ११ र ३ नं वडा मात्र नभएर धरानका धेरै भन्दा धेरै स्थलहरुमा खाडल पुर्ने कार्य गर्नेछ,’ अध्यक्ष रामकुमार तामाङले भने,‘सम्पूर्ण धरानवासीलाई पनि सहभागिताको लागि अपिल गरेका छौं ।’
बाटोका खाडलले सर्वसाधारणलाई अप्ठ्यारो भइरहेकामा तरुण दलको अभियानले केही राहत भएको स्थानीयले बताएका छन् ।
बाटोजस्तो जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधारको मर्मतमा सम्बन्धित निकायले बेवास्ता गरेकाले बेलैमा आवश्यक कदम चाल्नुपर्ने उपाध्यक्ष विक्रम तामाङ बताउँछन् ।
विगतका वर्षहरुबाट नै बाटो र पूर्वाधारमा तीनै तहका सरकारको वार्षिक बजेटको सबै भन्दा ठूलो अंश खर्चिने भएकाले समयमा नै मर्मत गरिए पुनः निर्माण गर्नु पर्ने समय लम्बिएर राष्ट्रिय स्रोत पनि जोहो हुने उनले बताए ।
धरान तरुण दलका सचिव मनोहर श्रेष्ठले हाल बाटोको खाडल पुर्ने अभियान समस्याको दीर्घकालीन समाधान नभए पनि यसले सर्वसाधारणलाई राहत हुने कुरामा संगठन विश्वस्त रहेको बताए ।
उनले बाटामा खाडलहरु पुर्ने क्रममा धेरै सर्वसाधारणले बाटो पिचको अपेक्षा गरेको बताए । उनले तरुण दलसँग पर्याप्त स्रोत नभएका कारण केही नगरी बस्नु भन्दा उपलब्ध र जुटाइएको स्रोतमार्फत् सकेको कार्य गरेको बताए ।
अभियानमा विभिन्न नेता, समाजसेवी एवम् स्थानीयको उत्साहपूर्वक सहभागिता रहँदै आएको छ । आफनो गाउँठाउँका बाटाहरु जीर्ण रहेर दुर्घटना हुने गरेको भए पनि बाटो बनाउन कसरी पहल गर्ने भन्ने प्रक्रियाबारे अनभिज्ञ रहेको स्थानीयले बताएका छन् ।