धरान । गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, उत्थानशील खानेपानी सरसफाइ तथा आपतकालीन तयारी कार्यक्रमको पूर्व क्षेत्रीय कार्यालय धरानले मनसुन सहायता कार्यक्रम अन्तर्गत ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका–४ ओदक गाउँका पहिरोबाट विस्थापित ६५ घरपरिवारलाई दोस्रो चरणको राहत सामग्री वितरण गरेको छ ।

सो कार्यक्रमको पूर्व क्षेत्रीय कार्यालय धरानका कार्यालय प्रमुख कृष्णमान गुरुङका अनुसार स्थानीय विपद् व्यवस्थापन समिति मैवाखोला तथा जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङसँगको समन्वय र गाउँपालिकाको व्यवस्थापनमा वडा नं. ३ साँघुस्थित रङ्गशालामा निर्माण गरिएको अस्थायी आवास क्षेत्रमा बसोबास गरिरहेका विस्थापित घरपरिवारलाई उक्त सहयोग सामग्री वितरण गरिएको हो । दोस्रोपटक वितरण गरिएको सहायता सामग्रीहरूमा ग्याँस सिलिण्डर, ग्याँस चूल्हो, प्रेसर कुकरलगायत विभिन्न भाँडाकुँडाहरू रहेको जनाइएको छ ।

उक्त सहायता सामग्रीहरू मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम, पालिकाका अन्य पदाधिकारीहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा सहयोगी संस्थाका प्रतिनिधि एवम् एरिया वेल्फेयर सेन्टर ताप्लेजुङका एरिया वेल्फेयर अफिसर मणिकुमार लिम्बूले पहिरो पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष वनेमले स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वय तथा सहकार्यमा पहिरो प्रभावित घरपरिवारलाई गोर्खा वेल्फेयर ट्रष्टको तर्फबाट प्राप्त निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । यसअघि पनि ट्रष्टबाट पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत पहिरो प्रभावित मैवाखोला, ओदक टोलका ६१ र ताम्राङ टोलका १८ गरी जम्मा ७९ घरपरिवारलाई साउन ४ गते अत्यावश्यक बन्दोबस्तीका सामग्रीहरू, व्यक्तिगत सरसफाइ एवम् आत्मसम्मान अर्थात् स्वच्छताका सामग्री र उज्यालो बत्ती बाल्नका लागि पोर्टेवल सोलार प्यानल वितरण गरिएको थियो । विपद्को घडीमा गोर्खा वेल्फेयर ट्रष्टबाट वितरण गरिएका सहायता सामग्रीहरूले आफूहरूलाई धेरै राहत महसुस भएको स्थानीय पीडितहरूले बताएका छन् । 

गत असार २ गतेको भीषण वर्षापछि गएको पहिरो र निरन्तरको वर्षाले गर्दा पहिरो पीडित ओदक गाउँ उच्च जोखिममा रहेकाले स्थानीय विपद् व्यवस्थापन समितिले उक्त गाउँलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरी तत्काललाई वडा नं. ३ स्थित रङ्गशालामा अस्थायी एकीकृत बस्ती निर्माण गरी व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

नवनिर्मित उक्त अस्थायी घर–टहराहरू यही असोज ८ गते सम्बन्धित पीडितहरूलाई औपचारिकरूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी पालिका अध्यक्ष वनेमले दिएका छन् ।