विराटनगर । कोसी ग्याँसको सिलप्याक सिलिन्डर रित्तो भेटिएपछि दुई लाख रुपैयाँ जरिबाना गरिएको छ ।
उपभोक्तालाई बिक्री गरिएको सिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि उद्योगलाई जरिबाना गरिएको हो । मोरङको बूढीगङ्गा गाउँपालिका–४ नेमुवास्थित कोसी ग्याँस उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिल नतोडिएको सिलिन्डर खाली पाइएको छ । सिलप्याक सिलिन्डर खाली भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार उद्योगमा अनुगमन गरेको छ । कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा कैफियत भेटिएपछि वाणिज्य कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको उनले बताए । उपभोक्ता संरक्षण ऐनअनुसार उद्योगलाई दुई लाख रुपैयाँ जरिबाना गराएको बस्नेतले बताए ।
विराटनगर–९ ट्राफिक चोककी अन्जना सिंहले ग्याँस खरिद गरेकी थिइन् । उपभोक्ता सिंहले विराटनगरस्थित कोसी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङबाट ग्याँस खरिद गरेको बताइन् । ग्याँस सकिएपछि जोड्न खोज्दा सिलप्याक सिलिन्डरमा खाली भेटिएपछि आफू अचम्ममा परेको बताइन् । ‘घरमा एकै पटक चार वटासम्म सिलिन्डर राख्ने गरेका थियौँ । दुइटा सिलिन्डर सकिएपछि भरेर ल्याउने गरेका छौँ’ उनले भनिन्, ‘दुई महिनाअगाडि खरिद गरेको सिकप्याक ग्याँस प्यासेजमा थियो । सकिएपछि जोड्न खोज्दा हल्का थियो । सिलप्याक छ तर, भित्र ग्याँस छैन ।’
सिलप्याक सिलिन्डरमा ग्याँस नहुनु उपभोक्तामाथि ठगी भएको कार्यालयले जनाएको छ । उपभोक्ता सिंहले आफूजस्ता धेरै उपभोक्ता ठगिएको हुनसक्ने बताइन् । ‘विश्वासका भरमा खरिद गरेर प्रयोग गर्छौं’ उनले भनिन्, ‘तर, उद्योगले उपभोक्तामाथि ठगी गर्दो रहेछ । ठगी गर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ डिलर सञ्चालक केशव श्रेष्ठले उद्योगबाट आएको सिलप्याक ग्याँस बिक्री गरेको बताए । ‘अहिले त्यो लटको ग्याँस सकिएको छ’ उनले भने, ‘ग्याँस नभएको विषयमा मलाई थाहा भएन ।’ यता कोसी ग्याँस उद्योगका प्रबन्धक सचितकुमार उपाध्यायले उद्योगबाट सही तरिकाले सिलिन्डर पठाउने गरेको बताए । ‘डिलरमा गइसकेपछि हामी जिम्मा लिन सक्दैनौँ’ उनले भने, ‘उद्योगमा भएका सिलिन्डर सही अवस्थामा रहनु र बाहिर पठाइएकोमा ग्याँस नभएको कुरा आउनुले हामी पनि अचम्ममा परिरहेका छौँ ।’
उद्योगलाई बदनाम गराउन खोजेको उनको दाबी छ । डिलरलाई बोलाएर पनि यस विषयमा कुरा बुझ्ने उनको भनाइ छ । तौलेर मात्र ग्याँस सिलिन्डर लैजान उनले आग्रह गरे । दुई वर्षअगाडि पनि विराटनगर–२ तीनपैनी चौकका उपभोक्ता रतनकुमार बर्माले खरिद गरेको कोसी ग्याँसको सिलप्याक सिलिन्डरमा तीन केजी तीन सय ग्राम कम तौल भेटिएको थियो । उद्योगले तत्कालीन समयमा नाम मात्रको प्लाष्टिक ¥यापिङ गर्दा चोरी हुने निष्कर्षसहित फरक सिलप्याक गर्दै आएको थियो । उद्योगले अहिले दैनिक सातदेखि आठ हजार ग्याँस सिलिन्डर उत्पादन गरिरहेको छ । देशभरिमा तीन सय ९६ वटा डिलर रहेको उद्योगको विराटनगरमा मात्र ३२ वटा डिलर छन् ।
गरेनन् गुणस्तर तथा नापतौलका प्रमुखले अनुगमन
बजार अनुगमन गर्ने जिम्मेवार निकायले नै अनुगमन गर्न हिच्किचाएको छ ।
कोसी ग्याँसको सिलप्याक सिलिन्डरमा ग्याँस नभेटिएको विषयमा जानकारी गराउँदा पनि ‘गाडी नभएको’ भन्दै पन्छिएको पाइएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख मनोजकुमार पोखरेललाई उपभोक्ताले जानकारी गराउँदा पनि अनुगमन गर्नका लागि आउने सवारी नै नभएको जानकारी गराएका थिए । उनले गाडी नभएको भन्दै आइतबार अनुगमन गर्न आउन नसक्ने बताए ।
‘अनुगमनमा जानको लागि गाडी छैन’ उनले भने, ‘गाडी नभएको कारणले आउन नसक्ने भइयो ।’ ग्याँसको तौल हेर्ने जिम्मेवारी गुणस्तर तथा नाप तौल कार्यालयको हो । तर, जिम्मेवार निकायले गैरजिम्मेवार जानकारी दिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरलाई उपभोक्ता अन्जना सिंहले खबर गरेकी थिइन् । त्यसपछि वाणिज्य कार्यालयका प्रमुखसहितका प्रतिनिधि आएर कोसी ग्याँसको उद्योग निरीक्षण गरेर कारबाही गरेको छ ।