बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७ सय २५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९सय भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३ सय १६, अगस्टमा ३ सय ४२ र जुलाईमा २ सय ४ गरी कूल ९ सय ९ जना डेङ्ग सङ्क्रमित विरामीको मृत्यु भएको हो ।
महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९ सय १७, अगस्टमा ७१ हजार ९ सय ७६ र जुलाईमा ४३ हजार ८ सय ५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
यस वर्ष हालसम्म निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।