मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित भएका छन् । 

पुल बनपछि बर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यताबाट मुक्त हुन पाएकामा उनीहरू हर्षित भएका हुन् । 

वडा नम्बर १४ स्थित पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको विद्यालय तथा वडा कार्यालय पुग्न वडा नंं.१० को धुलाबारी हुँदै घुमेर जानुपर्ने बाध्यता थियो । 

पुल बनेपछि यहाँका बासिन्दा सो समस्याबाट मुक्त भएको वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल राजवंशीले बताए । 

उनका अनुसार दस मिनेट लाग्ने पाँच सय मिटरको दूरीमा रहेको विद्यालय र वडा कार्यालय पुग्न पत्रासिंहबासीले वर्षायाममा एक घण्टा हिँड्नु पथ्र्यो । संघीय सरकारको एक करोड ३० लाख रुपैयाँको लागतमा १३० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । 

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले आज उक्त पुल उद्घाटन गरेका छन् । वि.संं २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा उपभोक्ता समिति बनाएर पुल निर्माण सुरु गरिएको थियो । समितिले निर्धारित मितिभन्दा दुई महिना अगावै पुल निर्माण गरेको वडाध्यक्ष राजंवशीको भनाइ थियो ।

- फाइल तस्बिर