धनकुटा । आगामी कात्तिक १८ गते हुन गइरहेको निम्न माध्यमिक तह अध्यापन अनुमति–पत्र परीक्षालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी सङ्घ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिले तयारी (सहजीकरण) कक्षा सुरु गरेको छ ।

धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन हुने सात दिने निःशुल्क तयारी कक्षाको उद्घाटन आइतबार एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसका धनकुटा सभापति दिनेश राईले गरेका थिए । कार्यक्रममा बोल्दै काङ्ग्रेस जिल्ला सभापति दिनेश राईले नेविसङ्घ क्याम्पस इकाईले सञ्चालन गरेको तयारी कक्षाले परीक्षा दिन लागेको विद्यार्थीहरूलाई सहयोग पुग्ने बताए ।

तयारी कक्षाको प्रमुख प्रशिक्षक शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत सन्तोष बराल रहेका छन् । कक्षा सुरु भएको पहिलो दिन १ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । तयारी कक्षा सञ्चालनको अवधि एक हप्ताको भए पनि त्यसलाई बढाएर १५ दिनको बनाइने नेविसङ्घ क्याम्पस इकाईका कार्यवाहक सभापति रञ्जन कार्कीले बताए । उनका अनुसार तयारी कक्षामा सहभागी हुने शतप्रतिशत विद्यार्थी पास हुने लक्ष्य राखिएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तथा पूर्व नेविसङ्घ सभापति खेम पौडेल, स्वतन्त्र विद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पसका सचिव सुवास खनाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका निमित्त प्रमुख मानबहादुर भण्डारी, पूर्व सहायक क्याम्पस प्रमुख (शिक्षातर्फ) दिनेश अधिकारीलगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सभापतित्व नेविसङ्घ क्याम्पस इकाईका कार्यवाहक सभापति रञ्जन कार्की र सञ्चालन क्याम्पस इकाई सह–सचिव वीरेन्द्र भण्डारीले गरेका थिए ।