भद्रपुर । भद्रपुर भन्सार कार्यालयले भारतीय सवारी साधनलाई सुविधाबापत रकम असुल्दै आइरहेको पाइएको छ ।

भारतीय सवारी साधनलाई सुविधा रसिद लिँदा कानूनतः कुनै पनि रकम लाग्दैन तर, भद्रपुर भन्सारका कर्मचारीले भने हलुका सवारी (कार, भ्यान, जीप) लाई दैनिक ५० र मोटरसाइकललाई दैनिक २० रुपैयाँ लिँदै आएको पाइएको छ ।

दैनिक तीन हजार ७ सयभन्दा बढी रकम असुलेको पुष्टि भएको छ । यसरी उठाइएको रकम भने हालसम्म सरकारी राजस्वमा जम्मा नभएको पाइएको छ । नेपाल–भारतको सम्झौताअनुसार भारतीय सवारी साधनलाई भन्सार कार्यालय रहेको ठाउँबाट नजिकको बजारसम्म पुगी सोही दिन सोही नाकाबाट फर्कने शर्तमा नेपाल प्रवेश गर्नको लागि दिइने इजाजत पत्रलाई (सुविधा) भन्ने गरिन्छ ।

यस्तो इजाजत पत्र (सुविधा) लिँदा कुनै शुल्क नलाग्ने भन्सारकै कर्मचारी बताउँछन् । इजाजत पत्र (सुविधा) को पत्रमा सवारी धनीको नाम, सवारीको चेसिस नं., इन्जिन नं., गाडी नं.,सवारी चालकको नाम र चालकको लाइसेन्स नं. उल्लेख गर्नुपर्ने हुन्छ । तर, भन्सारले दिने इजाजत पत्र (सुविधा) को पत्रमा कुनैमा पनि पूरा विवरण लेखिएको हुँदैन ।

सवारी साधन नै भन्सार कार्यालय लगेर मात्र सो इजाजत पत्र दिनुपर्ने कानूनी प्रावधान भए पनि कर्मचारीको मिलेमतोमा (बढी रकम दिएर) अधिकांश सवारी साधन भन्सार कार्यालय नलगी सुविधा दिने र दैनिक सुविधा लिने गरेको भद्रपुरका एक भारतीय सवारी चालकले बताए । भद्रपुर भन्सारका कर्मचारी रञ्जना दाहालले भद्रपुर भन्सारबाट दैनिक ६५ देखि ९० वटासम्म हलुका सवारी साधनले सुविधाको इजाजत लिने गरेको बताइन् ।

सुविधाको इजाजत लिँदा हलुका सवारीको ५० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँ लाग्ने गरेको उनी बताउँछिन् । सुविधाको रसिद दिँदा रकम लिनु कानूनसम्मत हो त ? भन्ने प्रश्नमा ‘कानूनको विषयमा हाकिमलाई सोध्नुस्, हामी त अह्राएको काम गर्ने कर्मचारी हो’ भन्ने जवाफ दिइन् । यस विषयमा भद्रपुर भन्सार कार्यालयका प्रमुख अमित तिवारीसँग फोन सम्पर्क गर्दा सुविधाको इजाजत लिँदा कुनै शुल्क नलाग्ने बताए । कार्यालय मातहतका कर्मचारीले रकम लिएको विषयमा जिज्ञासा राख्दा आफूलाई यसबारे थाहा नभएको प्रतिक्रिया दिए । बिचौलियाले यस्तो काम गरेको हुनसक्ने उनको भनाइ छ । गुनासो आएपछि सबै कर्मचारीलाई सचेत गराइसकिएको उनको भनाइ छ । स्थानीय व्यापारीका अनुसार रकम उठाउने मुख्य व्यक्ति रवि राजवंशी हुन् ।

लामो समयदेखि भद्रपुर भन्सारमै रहेकोले उनले कसैलाई नटेर्ने, रकम नदिए गालीगलौजदेखि हातपातमै उत्रने गरेको एक भारतीय सवारी चालक बताउँछन् । भद्रपुर भन्सारका कर्मचारी रञ्जना दाहालकै अनुसार पनि दैनिक ७५ वटा हलुका सवारी साधनको ५० रुपैयाँको दरले दिनमा ३ हजार ७ सय ५० रुपैयाँ हुन्छ । भद्रपुर भन्सारको गैरकानूनी रकम असुलीबारेमा प्रहरी प्रशासनलाई समेत जानकारी छ तर, पनि कहीँकतैबाट आवाज नउठेको पीडित भारतीयहरू बताउँछन् ।

‘व्यापारीहरू त्यही भन्सारबाट करोडौँको सामान लाखमा देखाएर भन्सार काट्नु पर्छ’ एक व्यापारीले भने, ‘उनीहरूको लागि ५–१० हजारको समेत मतलव हुँदैन, ५० रुपैयाँको त झन् के मतलव ?’ यसअघि ट्राफिक प्रहरीले भद्रपुर भन्सारमा गएर भारतीय सवारी साधनलाई सुविधा काट्दा रकम लिन नमिल्ने बताएपछि भद्रपुर भन्सारले वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुखलाई भनेर ट्राफिकलाई सम्झाउन लगाएको घटनासमेत सार्वजनिक भएको थियो ।