उदयपुर । उदयपुरमा पनि डेङ्गुको कारण एकजनाको ज्यान गएको छ ।

उदयपुरको बेलका नगरपालिका–५ खारखोलामा ४० वर्षीय विजय लिम्बूको डेङ्गु सङ्क्रमणका कारण ज्यान गएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिए । गत सातादेखि डेङ्गु सङ्क्रमणबाट उनी सिकिस्त रहेका थिए । उनलाई बेल्टार अस्पतालमा उपचारपछि घरमै ल्याइएको थियो ।

घरमा रहँदा झनै सिकिस्त बन्दै गएपछि लिम्बूलाई शुक्रबार उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई आइसियुमा राखिएको थियो ।  उपचारकै क्रममा आइतबार साँझ उनको ज्यान गएको नगरप्रमुख कार्कीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार साउन पहिलो हप्तादेखि उदयपुरमा डेङ्गु सङ्क्रमण देखा परेपछि हालसम्ममा तीन जनाको ज्यान गएको छ भने झण्डै एक हजारको हाराहारीमा सङ्क्रमित भइसकेका छन् । सुनसरीको धरानमा भने हालसम्म १३ जनाको डेङ्गु सङ्क्रमणका कारण ज्यान गइसकेको छ । त्यसमा २ बालबालिका छन् ।