धरान (ब्लाष्ट) जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले धरानको भानुचौकमा सोमबार चालकहरूलाई राखेर तत्क्षण सवारी नियमबारे जानकारी गराएको हो । धरान उपमहानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा सिटी सवारी व्यवस्थापन गर्ने विषयमा जानकारी गराएको हो ।

धरानमा आवश्यकभन्दा बढी सिटी सफारी रहेको प्रहरीले बताउँदै आइरहेको छ । भौगोलिक हिसाबमा पनि धरान सिटी सफारीका लागि उपयुक्त सहर नभएको ट्राफिक प्रहरीको निष्कर्ष छ । सडकमा गुड्दै गरेका सिटी सफारी चालकहरूलाई भेला गरी ट्राफिक नियमबारे जानकारी गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इन्स्पेक्टर सुवास केसीले जानकारी दिए । उनले ट्राफिक व्यवस्थापन गर्न सबैको सहयोग आवश्यक रहेको बताए । 

सिटी सफारीका लागि निश्चित पार्किङस्थल नहुँदा भानुचौक अस्त–व्यस्त हुने गरेको छ । धरान उपमहानगरपालिकाले भने ई–रिक्सालाई दर्ता हुन आह्वान गरेको छ । केही दर्ता प्रक्रियामा गए पनि हालसम्म धेरै सिटी सफारीहरू दर्ता प्रक्रियामा आउन नसकेको धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । हालसम्म धरान उपमहानगरमा चारवटा सिटी सफारी मात्रै दर्तामा रहेको उनले जानकारी दिए । नगरले पटक–पटक सफारीलाई दर्ता गर्न आह्वान गर्दै आएको छ । 

लाइसेन्स नभएकाहरूले पनि सवारी चलाइदिँदा दुर्घटनाको समयमा समस्या हुने गरेको ट्राफिक प्रहरी बताउँछन् । लाइसेन्स लिने, दर्ता प्रक्रियामा जाने र ट्राफिक नियम पालना गरेमा धेरै समस्या समाधान हुने इन्स्पेक्टर केसी बताउँछन् । सिटी सफारी चालकहरूले पनि यस विषयलाई मनन् गरे पनि हालसम्म दर्ता प्रक्रियामा गएका छैनन् । सफारी चालक रीना तामाङले धेरै सफारी चालकको नागरिकता तथा बसाइँसराइको समस्या भएकाले पनि दर्ता प्रक्रियामा नआएको बताइन् ।