सुनसरी  । सुनसरीको कोसी गाउँपालिकाका वडाध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कोसी गाउँपालिका–७ का वडाध्यक्ष लालदेव सदाको हस्ताक्षर कीर्ते गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मुनेश्वर शर्मा पक्राउ परेका हुन् । वडाध्यक्षको हस्ताक्षर कीर्ते गरेको आरोपमा शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता नवीनकृष्ण भण्डारीले पुष्टि गरे ।

शर्मालाई सोमबार नै नियन्त्रणमा लिएको भए पनि वडाध्यक्ष सदाले मङ्गलबार मात्रै प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी भण्डारीले पुष्टि गरे । आरोपित शर्मालाई आज(बुधबार) जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिने डिएसपी भण्डारीले जानकारी दिए ।

कोसी क्षेत्रका नेकपा (माओवादी केन्द्र) का अगुवा कार्यकर्तासमेत रहेका आरोपित शर्माले आफू वडाध्यक्ष भएको भन्दै राष्ट्रिय भूमि आयोगको ढाँचाअनुसार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने विपन्न समुदायको लगत सङ्कलन फारममा वडाध्यक्ष सदाको कीर्ते हस्ताक्षर गरेको आरोप छ । कोसी गाउँपालिका–७ को वडाध्यक्षमा निर्वाचित सदा पनि नेकपा (माओवादी केन्द्र) बाट टिकट पाएर जितेका हुन् ।

२७ वर्षको उमेरमा दलित समुदायबाट वडाध्यक्षमा निर्वाचित सदा कोसी प्रदेशकै कान्छो वडाध्यक्षसमेत हुन् । आफ्नो हस्ताक्षर कीर्ते गर्ने व्यक्तिउपर कानून बमोजिम कारबाही हुनुपर्ने भन्दै सुनसरी प्रहरीमा जाहेरी दिएको वडाध्यक्ष सदाले बताए । आफू निर्वाचित भएपछि वडाबासीको सल्लाह सुझावअनुसार कानूनले दिएको अधिकार प्रयोग गरी निष्पक्ष तवरबाट सेवा दिँदै आएकोमा यस्तो घटनाबारे थाहा पाउँदा निकै दुःखी भएको उनले बताए ।