मोहन वैध ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी धरान नगर समितिले धरानमा विद्यमान समस्या समाधानका लागि पहल गर्न धरान नगर प्रमुखलाई एक्काइस बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । 

पार्टीले धरान उपमहानगरभित्रको सुकुम्बासी समस्यालाई प्रधान समस्याका रुपमा उल्लेख गर्दै समाधानका लागि तत्काल पहल गर्न माग गरेको छ । 

पार्टीले सर्दू जलाधार, धरानको एयरपोर्ट वित्तीय संस्थाका समस्या, कालोबजारी, निजी विद्यालयको चर्को शुल्क, मेडिकल माफिया, धरानको नयाँ बसपार्क सञ्चालन, मातृभाषा पठनपाठन, सामाजिक सद्भाव, असंगठित श्रमिकका समस्या, कृषि अनुदानमा अनियमितता, फोहोरमैला व्यवस्थापन, लागूऔषध दुव्र्यसन, सवारी व्यवस्थापन, खानेपानी समस्या समाधान र दीर्घकालीन परियोजनाको पहल, बिपी प्रतिष्ठानमार्फत् प्राप्त स्वास्थ्य सुविधा र बालविकास केन्द्रको दर्ता प्रक्रियालगायतका विषयमा पहल गर्न माग गर्दै नगर प्रमुख हर्कराज राई (साम्पाङ) को ध्यानाकर्षण गराएको छ । 

पार्टीले मागपत्रमा विगत लामो समयदेखि श्रमजीवि उत्पीडित जनताको पक्षमा निरन्त संघर्ष गरिरहेको उल्लेख गरेको छ । 

Krantikari Communist Party Dharan

ज्ञापनपत्रमा पार्टीले ‘जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताको खातिर निरन्तर संघर्षरत रहेको’ उल्लेख गर्दै नेपाली जनताले भोग्नु परेको वर्गीय, उत्पीडन र क्षेत्रीय समस्या हल गर्नका निम्ति साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतिक्रियावादी सामन्तवाद तथा नोकरशाही एवम् दलाल पूँजीवादी संसदीय राज्य व्यवस्थाको अन्त्य गरी जनताको नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहेको स्पष्ट पारेको छ । 

‘राष्ट्रिय स्वाधिनता, जनतन्त्र जनजिविकाको सवालमा कुनै प्रकारका सम्झौता हुने छैन,’ ज्ञापनपत्रमा  भनिएको छ, ‘यस धरान उपमहानगरपालिकाभित्र रहेका समस्याको समाधान तथा पहल गर्नका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल धरान नगर समिति जोडदार माग गर्दछ ।’ 

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख साम्पाङले धरानमा भएका समस्या हल गर्ने लागि परिरहेको बताएका छन् । ‘सबै कुराको समाधान एकै पटक नदेखिए पनि सुधार हुँदै गएको छ,’ नगर प्रमुख साम्पाङले भने, ‘अनुगमनलाई निरन्तरता दिएका छौं, खानेपानी, स्वास्थ्य,  बजार र ट्राफिक व्यवस्थापन, भानुचोकको भीडभाड र गाडीको व्यवस्थापन गरिरहेका छौं ।’

नगरप्रमुख साम्पाङले धरान नगरका सबै प्रतिनिधि मिलेर धरानलाई चाँडै विकास गर्ने बताएका छन् ।