धनकुटा । सुपेरियर मालिका जेभी कन्स्ट्रक्सन कम्पनीका निर्माण व्यवसायी प्रदीप कार्कीलाई मङ्गलबार धनकुटाको हिलेस्थित सिँजाली टोलमा कालोमोसो दलिएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले निर्माण व्यवसायी कार्कीमाथि कालोमोसो दलेका हुन् । उक्त पार्टीका कार्यकर्ताहरूले निर्माण व्यवसायी कार्कीको सुपेरियर मालिका जेभी कन्स्ट्रक्सन कम्पनीले धनकुटाको हिलेमा निर्माण गर्दै गरेको कवर्ड हल निर्माण कार्यको जिम्मा लिएका थिए ।
धनकुटास्थित आवास तथा सहरी विकास कार्यालय अन्तर्गत प्रदेश सरकारको तीन करोड पचास लाखको लागतमा २ वर्ष अघिदेखि कवर्ड हल निर्माण गर्न थालिएको थियो । कवर्ड हल निर्माणका क्रममा त्यहाँ कार्यरत मजदुरहरूलाई ज्याला नदिई श्रमशोषण र दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीका कार्यकर्ताहरूले हिलेस्थित सिँजाली टोलमा निर्माण व्यवसायी कार्कीलाई कालोमोसो दलेका हुन् ।
बागमती प्रदेशको दोलखा घर भई धनकुटा बस्दै आएका कार्कीलाई करिब एक दर्जनको सङ्ख्यामा रहेका सो पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएर कालोमोसो दलेका थिए । उक्त पार्टीका धनकुटा जिल्ला संयोजक मोहन घलेले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएका छन् । विज्ञप्तिमा मजदुरहरूलाई ज्याला नदिई श्रमशोषण र दुव्र्यवहार गरेकाले मजदुरहरूको ज्याला एक महिनाभित्र भुक्तानी गर्न चेतावनी दिँदै कालोमोसो दलिएको दाबी गरिएको छ ।