विजयपुर । मोहन वैध ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी धरान उपमहानगर समितिले धरान नगरप्रमुख हर्कराज राईलाई ज्ञापन–पत्र बुझाउँदै धरानमा सामाजिक सद्भाव कायम गर्न माग गरेको छ । पार्टीको मागका विषयमा नगरप्रमुख राईले ‘मन्दिर–चर्च’ विवादको प्रष्टीकरण दिएका छन् ।

बुधबार पार्टीले नगरप्रमुख राईलाई विभिन्न २१ बुँदे माग राख्दै ज्ञापन–पत्र बुझाएको छ । ज्ञापन पत्रमा धरानमा सामाजिक सद्भाव कायम राख्न माग गरिएको छ । उक्त मागका विषयमा नगरप्रमुख राईदे यसअघिको धरान–१४ स्थित बालगोपाल मन्दिरको प्रवेशद्वारको निर्माण गरिएको होली ट्रिनिटी विलिभर्स इस्टर्न चर्च विवादका विषयमा प्रष्टीकरण दिएका हुन् । ज्ञापन–पत्र बुझ्दै नगरप्रमुख राईले भने, ‘सामाजिक सद्भावको मैले त गीत नै बनाएको छु ।’ उनले सामाजिक सद्भावका लागि गीत बनाएको बताउँदै भने, ‘यस्तो मेयरलाई सामाजिक सद्भाव भड्काएको आरोप छ ।’ उनले आफूले चर्च बनाउन लेखेर इजाजत नदिएको बताए । उनले भने, ‘भत्का भन्छ, मलाई बनेको थाहा छैन । स्थापना भएको चर्च भत्का भन्छ, कसरी भत्काइदिनु ? इसाई धर्मका पनि धरानकै मान्छे होला । मलाई हिन्दुले पनि भोट दिएको होला । जनप्रतिनिधि त साझा हुन्छ नि ।’ उनले मन्दिर– चर्च विवादको हेण्डलिङ अदालतले गर्ने बताउँदै भने, ‘कानूनको अन्तिम व्याख्या अदालतले गर्छ । सरकारले गर्दैन । मलाई अझैसम्म पनि गाली गरिरहेका छन् ।’ श्रमदान पनि सामाजिक सद्भावका लागि नै गरेको नगरप्रमुख राईले दाबी गरे । मन्दिर– चर्च विवादका विषयमा सुरुमा धर्म संवेदनशील विषय भएकाले आफू नबोल्ने र अदालतले विवाद किनारा लगाउने नगरप्रमुख राईले बताएका थिए । मन्दिर–चर्चबाट सुरु भएको धार्मिक विवादका कारणले धरानमा निषेधाज्ञासमेत लगाउनु परेको थियो । धरानको उक्त विषय सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखले गृहमन्त्रीलाई समेत जानकारी गराएका छन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी धरान नगरसमितिका इन्चार्ज पारस लिम्बू र संयोजक बी.बी. राईद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा सुकुम्बासी समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेको छ । पार्टीले सर्दू जलाधार, धरानको एयरपोर्ट, वित्तीय संस्थाका समस्या, कालोबजारी, निजी विद्यालयको चर्को शुल्क, मेडिकल माफिया, धरानको नयाँ बसपार्क सञ्चालन, मातृभाषा पठन–पाठन, सामाजिक सद्भाव, असङ्गठित श्रमिकका समस्या, कृषि अनुदानमा अनियमितता, फोहोरमैला व्यवस्थापन, लागूऔषध दुव्र्यसन, सवारी व्यवस्थापन, खानेपानी समस्या समाधान र दीर्घकालीन परियोजनाको पहल, बीपी प्रतिष्ठानमार्फत् प्राप्त स्वास्थ्य सुविधा र बालविकास केन्द्रको दर्ता प्रक्रियालगायतका विषयमा पहल गर्न माग गरेको छ ।

ज्ञापन–पत्रमा पार्टीले ‘जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताको खातिर निरन्तर सङ्घर्षरत रहेको’ उल्लेख गर्दै नेपाली जनताले भोग्नु परेको वर्गीय, उत्पीडन र क्षेत्रीय समस्या हल गर्नका निम्ति साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतिक्रियावादी सामन्तवाद तथा नोकरशाही एवम् दलाल पुँजीवादी संसदीय राज्य व्यवस्थाको अन्त्य गरी जनताको नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहेको स्पष्ट पारेको छ । ‘राष्ट्रिय स्वाधीनता, जनतन्त्र जनजीविकाको सवालमा कुनै प्रकारका सम्झौता हुने छैन’ ज्ञापन–पत्रमा  भनिएको छ । ज्ञापन–पत्र बुझ्दै नगरप्रमुख राईले धरानमा भएका समस्या हल गर्न लागिपरिरहेको बताए । ‘सबै कुराको समाधान एकै पटक नदेखिए पनि सुधार हुँदै गएको छ’–उनले भने । उनले बजार अनुगमनलाई निरन्तरता दिएको पनि बताए । खानेपानी, स्वास्थ्य, बजार र ट्राफिक व्यवस्थापन, भानुचोकको भीडभाडलगायतको व्यवस्थापन गरिरहेको उनले बताए ।