धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरिएको १ हजार ७ सय ४८.५ केजी अखाद्य बेसार धरान उपमहानगरले नष्ट गरेको छ ।
बरामद गरिएको १३ बोरामा ६ सय २३.५ केजी र मिलमा राखिएको ४५ बोरामा रहेको १ हजार १ सय २५ केजी बेसार खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय इनरुवा, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, नगर प्रमुख हर्कराज राई(साम्पाङ) साथै बजार अनुगमन समितिको रोहवरमा आज नष्ट गरिएको हो ।
धरान २० स्थित नमुना टोल साबुन फ्याक्ट्री परिसरमा नष्ट गरिएको धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
गत असोज २ गते अनुमगन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो ।
यसअघि खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
अनुगमन अधिकृत सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिएको हो ।
मिलका सञ्चालक गोर्खामान श्रेष्ठले गल्ती भएको भन्दै उपमहानगरपालिकामा सजाय माफी मिनाहाको निवेदन दिएका थिए । खाद्य निरीक्षक बादल चेम्जोङका अनुसार खुदीलाई बेसार जस्तो देखाउन फुड कलर मिसाइएको थियो ।