धरान इटहरी सडक खण्ड निर्माणमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि ढिलासुस्ती हुनुको कारण 'सरकारी पक्ष र ठेकेदारबीच लेनदेनको असमझदारी' हुनसक्ने दलहरुले आरोप लगाएका छन् ।
आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै धरानका राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले सडक निर्माणमा देखिएको कार्यशैलीले अवान्छित गतिविधि भएको आशङ्का गर्ने प्रशस्त ठाउँ दिएको' उल्लेख गरेका छन् ।
धरान इटहरी सडक खण्डको सेउती पुलदेखि पानीपिया सम्मको ६ लेन सडक नबनेका कारण भइरहेका दुर्घटना तथा समस्याका विषयमा यातायात व्यवसायीका मागमा ऐक्यबद्धता जनाउँदै दलले जनताको प्रत्यक्ष जीवनसँग जोडिएका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर सघंको कोशी प्रदेश समितिले गत सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाएको ध्यानाकर्षण-पत्रप्रति दलले ऐक्यबद्धतासमेत जनाएका छन् ।
पूर्वी पहाडी जिल्ला जोड्ने राजमार्ग निर्माण प्राथमिकतामा रहनु पर्नेमा राज्यको कमजोर संयन्त्र तथा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनले सडक समयमा निर्माण हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा दलहरुको तर्फबाट पटक-पटक सरकारलाई लिखित तथा मौखिकरुपमा ध्यानाकर्षण गराएको समेत स्पष्ट पार्दै यातायात व्यवसायी तथा मजदुरहरूका तर्फबाट राखिएका माग तत्काल सम्बोधन गर्न र सडक निर्माण कार्य सम्पन्न गर्न सरकारी पक्षसँग माग गरेका छन् ।