सुनसरी जिल्ला बास्केटबल संघको पाँचौं अधिवेशनबाट पुनः नारायण सुवेदी दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
धरान १० स्थित वडा कार्यालयको सभाहलमा बुधबार सम्पन्न पाँचौं अधिवेशनबाट सुवेदीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा विवेक राई, सचिव विकास चाम्लिङ राई, सहसचिव युगल लिम्बू र कोषाध्यक्षमा डा. आशा राईलाई चयन गरिएको छ ।
सदस्यहरु विकास वनेपाली, रेखा गुरुङ, गौरवमान श्रेष्ठ, रन्जित लिम्बू, रविन गुरुङ, आस्था राई, नुप राई, चिरन्जीवी गिरी, अधिप श्रेष्ठ र वृजेश तामाङ चयन भएका छन् ।
उद्घाटन सत्रमा सभाध्यक्ष सुवेदीले संघको कार्य विवरण र आगामी योजना प्रस्तुत गरेका थिए ।
बन्द सत्रमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको अध्यक्षतामा निर्वाचन मण्डल घोषणा गरिएको थियो । अध्यक्ष मण्डलले कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य रोशनी राईको संयोजकत्वमा कोशी प्रदेश बास्केटबल संघका उपाध्यक्ष रोशन राई र सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख एवं प्रतिनिधि यादव कार्कीसहितको तीन सदस्यीय निर्वाचित समिति गठन गरेको थियो । हलले सुवेदीलाई सर्वसम्मत अध्यक्ष चुनेको थियो ।
निर्वाचित अध्यक्ष सुवेदीको यो दोस्रो कार्यकाल हो । सुवेदीको कार्यकालमा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनसरी लगातार प्रदेश च्याम्पियन बनेको थियो ।
सुनसरीका वैभव योगी अन्डर १६ राष्ट्रिय बास्केटबल टिममा छनोट हुँदै नेपालको प्रतिनिधित्व गर्दै साउथ एशियन गेमका लागि वंगलादेश खेल्न गएका थिए ।
यसै गरी डा. आशा राईले महिला राष्ट्रिय बास्केटबल टिममा पर्न सफल हुँदै १३ औं सागमा सिल्भर मेडल प्राप्त गरेकी थिइन् भने प्रशिक्षक विकास चाम्लिङ राईले ब्रन्ज मेडल जित्न सफल भएका थिए ।
सुवेदीकै कार्यकालमा १३औं साग तयारीका लागि नेपालका महिला पुरुष दुवै टिमको ४९ दिनसम्म धरानमा बन्द प्रशिक्षण भएको थियो । त्यसअघि कुनै पनि खेलको राष्ट्रिय टिमको बन्द प्रशिक्षण धरानमा भएको थिएन ।
बन्द प्रशिक्षणमा धरानका अन्य खेलाडीलाई समेत संघले सिफारिस गरी सहभागी गराएको थियो । सुवेदीको नेतृत्वमा धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको सहकार्य गराइ ट्यालेन्ट हन्ट बास्केटबल प्रशिक्षण क्याम्पको आयोजना गरी एक सय बढी उदयीमान बास्केटबल खेलाडीलाई छात्रवृत्ति प्रदान गरी अध्यन गराइरहेको छ ।
यस्तै बास्केटबल संघले प्रदेशमा हुने विभिन्न प्रतियोगितामा प्राविधिक सहयोग तथा प्रतियोगिता आयोजना र व्यवस्थापनमा सहयोग गर्दैै आइरहको छ ।