घण्टाघरबाट निष्काशित मजदुरका विषयमा धरान कार्यपालिका अनिर्णित बनेको छ । मजदुरकै विषयले कार्यपालिका आन्तरिक विवादमा अल्झेपछि मजदुरको पुनर्बहाली कि सम्मानजनक बिदाइ ? नगर प्रमुख र कार्यपालिका सदस्यबीच विषय टुङ्गो लाग्न सकेको छैन ।

घण्टाघरबाट निष्काशित मजदुरलाई कार्यपालिका बैठकबाट पुनर्बहाली गर्ने आश्वासन दिएका धरान नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले निर्णय गर्न नसकेपछि मजदुरहरुले ध्यानाकर्षण गराएका छन् ।

असोज १७ गते भएको धरान उपमहानगर कार्यपालिका बैठकमा मजदुरहरुलाई पुनर्बहाली गर्ने वा सम्मानजनक अनुदानसहितको बिदाइ गर्ने विषयमा कुनै निर्णय नभएपछि तत्काल समस्या समाधान गर्न नगर प्रमुख साम्पाङको ध्यानाकर्षण गराइएको हो ।

छलफलपछि मेयर साम्पाङले कार्यपालिका बैठक सौहार्द नभएकाले निर्णय गर्न नसकिएको बताएका थिए । घण्टाघर व्यवस्थापन समितिबाट आउनुपर्ने १५ लाख नगरपालिकामा आइनसकेको, अन्य पैसा समेत कहाँ गयो भन्ने टुंगो नभएको बताउँदै 'समितिले राखेको त्यही पैसाबाट मजदुरहरुलाई अनुदान सहयोग गर्नु पर्छ ।' नगर प्रमुख साम्पाङले भने, 'त्यो पैसा खोज्न मलाई सहयोग गर्नुस् ।'

प्रतिनिधि मण्डलको अगुवाइ गर्दै गएका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले मजदुरहरुलाई पुनर्वहाली पहिलो सर्त रहेको बताए ।

'यदि बिदाइ गर्ने हो भने श्रम ऐन २०७४, नियमावली २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मजदुरहरुलाई न्यायोचित अनुदान दिएर बिदाइ गर्नु पर्छ ।'
घण्टाघरमा मालीको काम गर्दै आइरहेका नरबहादुर सुब्बा २०६२ साउन १ गतेदेखि र प्रकाश राई २०७२ साउन १३ गतेदेखि सेवा गर्दै आइरहेका थिए । उपमहानगरपालिकाले २०८० साउन १ गतेदेखि उमेरको हदबन्दीलाई कारण देखाउँदै निष्काशन गरिएको थियो ।
सो विषयमा साम्पाङलाई तीनवटै ट्रेड युनियनहरुको तर्फबाट संयुक्त ज्ञापनपत्र बुझाएपछि भदौ ११ गते मेयर र मजदुर प्रतिनिधिहरुको उपस्थितिमा सहमति भएको थियो ।  सहमति अनुसार निकालिएका मालीहरुलाई एक वर्ष कार्यकाल थपिदिने वा चित्तबुझ्दो अनुदान स्वरुप सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको थियो ।

धरान घण्टाघरबाट निष्काशित मजदुरहरु प्रकाश राई र नरबहादुर सुब्बाको न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरुले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राईसहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयरसाम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरुलाई पुनर्बहाली या न्याचित अनुदानको व्यवस्था गर्न सुझाव दिएका थिए ।