सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

पाइलट सेडाइ खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र थिए । हेलिकप्टरान आगलागी भएको छ ।

मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको थियो । खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । 

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलार्ई  फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।