पक्राउ परेका पहिचानवादी नेताहरुलाई बिना सर्त रिहाइ गर्ने सहमतिपछि घोषित धनकुटा बन्द खुलेको छ । 

असोज २५ गते बिहीबार धनकुटाको राजारानीबाट पक्राउ परेका तीनजना पहिचानवादीलाई पक्राउ गरिएको विरोधमा आज मंगलबारदेखि धनकुटा अनिश्चितकालीन बन्दको घोषणा गरिएको थियो । 

धनकुटाका पहिचानवादी नेताहरु मनकुमार याम्फू राई, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बूलाई प्रशासनले नियन्त्रणमा लिएको थियो ।  उनीहरु ५ दिनदेखि जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेका थिए । धनकुटाको चौबिसेमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको कार्यक्रम अवरोध गरेको उनीहरुमाथि लगाइएको थियो । 

प्रदेश नं.१ पुनःनामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समिति धनकुटाले पहिचानवादीलाई स्थानीय प्रशासनले सोमबार रिहा नगरेपछि बाध्य भएर आन्दोलनको घोषणा गरिएको जिल्ला संयोजक संजय सन्तोषी राईले बताए । यस अघि जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख पून्यविक्रम पौडेलले असोज–२५ गते राजारानीमा पक्राउ परेका पहिचानवादीलाई सोमबार रिहा गर्ने प्रतिबद्धता जनाएका थिए । 

तर, सोमबार प्रजिअ पौडेलले पहिचानवदीलाई नछाडेपछि अनिश्चितकालीन धनकुटा बन्दको घोषणा गरेको संघर्ष समितिका केन्द्रीय सचिवालय सदस्य कृष्ण चोङवाङले बताए । 

हिजो जिल्ला प्रशासन कार्यालयको मूलगेटमा आयोजित धनकुटा बन्द घोषणा कोणसभा पछि स्थानीय प्रशासनविरुद्ध आन्दोलनकारीले नाराबाजी गरेका थिए । उनीहरुले धनकुटा बजारको विभिन्न भागमा नाराबाजी गर्दै मदनचोकमा पुगेर कोणसभा गरेका थिए ।

Dhankuta banda pahichanbadi3

Dhankuta banda pahichanbadi2

Dhankuta Banda pahichanbadi1