आज नवरात्रको छैटौं  दिन धरानका शक्तिपीठहरुमा सामान्य भीडभाड देखिएको छ ।
धार्मिक क्षेत्रमा घट्दो चहलपहलको मारमा परेको धरानस्थित मठमन्दिर र शक्तिपीठमा आजदेखि केही भीडभाड देखिएको छ ।

धरान २ स्थित छाताचोकमा रहेको सिंहदेवी मन्दिरमा भक्तजनको सामान्य घुइँचो देखिएको थियो । आज शास्त्रीय मान्यताअनुसार आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौं  दिन, कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

Dantakali Mandir Dharan1

आज विजयपुरस्थित दन्तकाली मन्दिरमा समेत सामान्य भीडभाड देखियो । भक्तजन बिहान ५ बजेदेखि नै पूजापाठ गर्दै गरेका देखिन्थे । आज शक्तिपीठहरुमा षोडशोपचारले विधिपूर्वक देवीको आह्वान गर्ने र पूजाअर्चना गर्ने गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

Dantakali Mandir Temple Dharan

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

Dantakali Mandir Temple Dharan Bijayapur