धरान । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले तास खेलिरहेको अवस्थामा छ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूको साथबाट एक लाख ५१ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वमा खटिएको टोलीले शुक्रबार राति सुन्दरहरैँचा–१० स्थित सुशीलकुमार काफ्लेको घरमा छापा हान्दा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरूको साथबाट तीन बुङ ताससहित घरधनी काफ्ले, सुमन ढकाल, कृष्णबहादुर कार्की, भीम कार्की, सरोज न्यौपाने र केराबारी गाउँपालिकाका गोविन्द बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको साथबाट एक लाख ५१ हजार दुई सय २५ रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।