विराटनगर । चाडपर्वमा प्रत्येक वर्ष सवारी दुर्घटनाको जोखिम हुने गरेको छ । रमाइलो गर्ने चाडको मुखमा सालैपिच्छे दुःखद् सवारी दुर्घटना भइरहन्छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हरेक वर्ष घटस्थापनादेखि पूर्णिमासम्म साना–ठूला गरी कोशी प्रदेशमा सयौंको सङ्ख्यामा सडक तथा सवारी दुर्घटना भइरहेका छन् । जसमा प्रत्येक वर्ष एक दर्जन बढीले ज्यान गुमाउने गरेको प्रहरी अभिलेखले देखाउने गरेको छ ।

यो दशैंमा पनि निकै साना–ठूला दुर्घटना नभएका दिनै भएनन् । दशैं मनाउन गन्तव्यमा पुग्न हतारिएका धेरै यात्रुले अकालमै मृत्युवरण गर्न पुगे । केही अङ्गभङ्ग भए र कोही जीवनभर अपाङ्ग भएका छन् ।

कोशी प्रदेशमा दशैंको ६ दिनमा १ सय ३५ वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । कात्तिक ५ गते फूलपातीदेखि ११ गतेसम्म १६ जनाको मृत्यु भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

१ सय ३५ वटा सवारी साधन दुर्घटनामा परेकामध्ये ४१ जना गम्भीर घाइते र २ सय २४ जना सामान्य घाइते भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । दशैंमा ६ हजार ६ सय २८ वटा सवारी साधनलाई कारबाही गरिएको उनले बताए । कारबाही गरिएका सवारी साधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच शुक्रबार सुनसरी र झापाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजे सुनसरीको दुहबी नगरपालिका–११ स्थित दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को.४ प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को.२४ प १७५८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परेर को.४ प ९१७८ नम्बरको मोटरसाइकल चालक स्थानीय ५० वर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी शनिबार बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका–१५ मा प्र.१–०२–०४७ प ७७८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ४९ वर्षीय हरिभक्त राई घाइते भई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसका साथै शुक्रबार साँझ ७ बजे झापाको गौरीगञ्ज गाउँपालिका–५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को.२८ प ३०८६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा को.२८ प ३०८६ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ महदेवाका ६० वर्षीय कैला प्रसाद ताजपुरियाको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७९\०८० मा १ सय ८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भीर घाइते र २ सय २६ जना सामान्य घाइते भएको प्रहरीको अभिलेखमा देखिन्छ । अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा कमी आए पनि मृत्यु हुनेको सङ्ख्या अघिल्लो र चालु आर्थिक वर्षमा बराबरी रहेको छ ।