धरान । पाँच महिनादेखि ओछ्यानमै थलिएकी मोरङ विराटनगर महानगरपालिका १२ की ४६ वर्षीया मायादेवी सहनीको उपचारमा महानगरका प्रमुखले चासो देखाएका छन् ।

नगरप्रमुख नागेश कोइरालाको पहलमा कोशी अस्पतालमा सोमबारबाट निःशुल्क उपचार सुरु भएको छ । गर्दनको नशा च्यापिएर थलिएकी सहनी आर्थिक अभावका कारण अस्पतालमा पुग्न सकेकी थिइनन् । नगरप्रमुख कोइरालासहित चिकित्सकको टोली पुगेर उनलाई स्वास्थ्य उपचारको प्रबन्ध मिलाएका थिए ।

महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई उपचारको प्रबन्ध मिलाउन नगरप्रमुख कोइरालाले निर्देशन दिएका थिए । गत असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नशा च्यापिएको थियो । सुरुमा विराटनगरका विभिन्न अस्पतालमा उपचार गराए पनि खर्च अभाव भएपछि घरमै बस्न बाध्य भएकी थिइन् ।

श्रीमान् रोहित सहनी ठेला चलाएर परिवारको गुजारा गर्दै आएका थिए । उनले आफ्नो पत्नीको ज्यान जोगाइदिन माग गर्दै आइतबार महानगरपालिका पुगेका थिए । ओछ्यानमै थलिएका कारण शरीरको विभिन्न भागमा घाउहरू निस्किन थालेका थिए भने उनी थप जटिल अवस्थामा पुगेकी थिइन् ।