धनकुटा । भीमदल गण धनकुटाले हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा उपयोग गर्ने गरी सात वटा बेन्च हस्तान्तरण गरेको छ ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष लालचन्द्र गोङ्वा तामाङलाई श्री २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथि महेशकुमार थापाले हस्तान्तरण गरेका हुन् ।

बेन्च हस्तान्तरण पछि बाहिनीपति थापाले ऐतिहासिक धरोहर एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्वद्धन र प्रवर्धनको लागि नेपाली सेनाले निरन्तर काम गर्दै आइरहेको बताए । उनले यस्ता समाजिक कार्यबाट नेपाली सेना र जनताबीच सुमुधुर सम्बन्ध कायम गरी राष्ट्रिय एकतालाई मजवुत बनाउन टेवा पुर्याउने बताए ।

कार्यक्रममा भीमदल गण धनकुटाका गणपति सुमन थापाले मन्दिर परिसरमा भक्तजनलाई थकाइ मार्न र दर्शनार्थीहरूको विश्रामका लागि सात वटा बेन्च निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङलगायतले मन्तव्य राखेका थिए ।