भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले गैरआवासीय नेपाली नागरिकता वितरण गरेको छ ।

हाल अमेरिका बसोबास गर्ने बिर्तामोड नगरपालिका–८ निवासी देवीप्रसाद पाण्डेलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाण–पत्र वितरण गरेको हो । पाण्डेलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकता जारी गरी सोमबार हस्तान्तरण गरेका थिए । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । सोही बमोजिम झापाबाट नागरिकता वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् भने उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानूनमा उल्लेख छ ।