धरान । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता भएको सुनसरीको इटहरी उपमहानगरस्थित तरहरा–सेउती पुलसम्मको करिब सात किलोमिटर सडक खण्ड ठेकेदारको अकमण्र्यताका कारण ढिलाइ भइरहेको छ ।

ठेकेदार हिमढुङ्ग–प्यासिफिक जेभीले काम थालेको चौथो वर्षमा प्रवेश गरिसक्दा पनि काम सम्पन्न नगरी बीचमा बेपत्ता बनेको थियो । यातायात व्यवसायी तथा मजदुरहरूले संयुक्त रूपमा दबाव दिए पछि भने दशैँ अगाडि आंशिक मात्रै काम गरी फेरि त्यसै छाडेको छ । यातायात व्यवसायीले गत असोज ९ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण–पत्र बुझाएपछि प्रशासनले सडकको काम चाँडो थाल्न दबाव दिएको थियो । तर पनि सम्पर्कविहीन अवस्थामा रहेको ठेकेदार कम्पनीलाई छ लेन सडक आयोजनाले असोज ११ गते एक दिनको समयसीमा दिएर निर्देशनात्मक पत्राचार गरेपछि सम्पर्कमा आएको थियो । तर, अहिले फेरि अवस्था उस्तै छ ।

कोशी राजमार्गअन्तर्गत सेउती पुलभन्दा मुनि र इटहरी उपमहानगरपालिका २० स्थित तरहराभन्दा माथिको करिब ७ किलोमिटर सडक निर्माण हुन नसकेको हो । यो जोगबनी–किमाथाङ्का जोड्ने व्यापारिक मार्ग हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिका संयोजक सरोज श्रेष्ठले चौतर्फी दबाव पछि बन्न लागेको सडक फेरि पनि उस्तै अवस्था रहेको बताए । उनले भने, ‘हामीले दबाव दिएपछि केही दिनपछि बनाउन सुरु गरेको थियो । दशैँपछि बनाउने भनिएको थियो । अहिले अवस्था उस्तै छ ।’ यातायात व्यवसायीले दबाव दिएपछि राजनीतिक दलहरू, सुनसरी उद्योग वाणिज्य सङ्घलगायतले पनि उक्त सडक समयमै निर्माण सम्पन्न गर्न भन्दै दबाव सिर्जना गरेका थिए । यसैबीच यातायात व्यवसायीहरू मङ्गलबार पनि सडक निर्माणका लागि दबाव दिन इटहरीस्थित आयोजनाको कार्यालय पुगेका थिए ।

यही सडकको विषयलाई लिएर विवेकशील साझा पार्टी कोशी प्रदेश समितिका अध्यक्ष सुदन श्रेष्ठले मुख्यमन्त्री केदार कार्कीलाई मङ्गलबार ध्यानाकर्षण गराएको छ । यो सडक ठेकेदार कम्पनीले २०८० साल असार मसान्तभित्रमा सक्नुपर्ने सम्झौता थियो । तर, ठेकेदार कम्पनीले एक वर्षको पुनः सम्झौता थप गरेको छ तर काम भने गरेको छैन । विवेकशीलका प्रतिनिधिले मुख्यमन्त्री कार्कीलाई भेटेर निर्धारित समयावधि समाप्त भइसक्दा पनि सडक निर्माण नहुँदा सर्वसाधारणले दुःख पाउनुपरेको भन्दै ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायलाई बोलाएर प्रगति विवरण सार्वजनिक गर्ने बताएको विवेकशील साझा पार्टीले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रदेश अध्यक्ष श्रेष्ठ, केन्द्रीय सदस्य विरेन्द्र गुप्ता, प्रदेश उपाध्यक्ष हेमन्त भट्टराई, सचिव चिरञ्जीवी रेग्मी, सदस्य भुवन थापा, अगुवा सदस्यहरु राजेन्द्रराज कुँवर, पुनितलाल कर्ण, लीला पोखरेल, ईरा श्रेष्ठ, सतिष कर्ण सहितको टोलीले प्रदेशको समसामयिक सवालमा मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण गराएको प्रेस नोटमा उल्लेख गरेको छ ।

दैनिक धरान, इटहरी, विराटनगर तथा लामो दूरीका सवारी साधनहरू दगुर्ने सडकमा दैनिकजसो दुर्घटना भइरहेका छन् । यता छ लेन सडक आयोजनाले पनि यसप्रति गम्भीर भएर नलागेको यातायात व्यवसायीको आरोप छ । कतिपयले सडक नबनेकोमा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेललाई सरापेका थिए । गत साउन २८ गते बिरेन लिम्बूले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै व्यङ्ग्यात्मक रूपमा लेखेका छन्, ‘सेउतीदेखि इटहरीसम्मको बाटो यस्तो छ । इटहरीका मेयर साँच्चै राम्रो .........।’ तर इटहरीका नगरप्रमुख पौडेलले गत वैशाख ९ गते ठेकेदार कम्पनीको निर्माणमा प्रयोग भएका सवारी नियन्त्रणमा लिई बाटो चाँडो निर्माण गर्न भन्दै दबाव दिएका थिए । सोही समयमा थालिएको सेउतीपुलदेखि धरानको तीनकुने नाकासम्मको करिब साढे ४ किलोमिटर सडक भने ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले समयअगावै सम्पन्न गरेको थियो ।

यातायात व्यवसायीद्वारा आयोजनालाई दबाव
कोशी राजमार्गअन्तर्गत तरहरादेखि सेउती पुलसम्मको सडक निर्माण सम्पन्न गर्न यातायात व्यवसायीले छ लेन सडक आयोजनालाई दबाव दिएका छन् ।

मङ्गलबार रानी–बिराटनगर–इटहरी–धरान सडक आयोजनाको कार्यालय पुगेर सडक निर्माण गर्न दबाव दिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठलगायतले सडक निर्माणको काम अघि बढाउन दबाव दिएका हुन् । महासङ्घका अध्यक्ष सरोज श्रेष्ठले तत्काल ठेकेदार कम्पनीलाई उपस्थित गराई काम अघि बढाउन माग गरे । ठेकेदार कम्पनी उपस्थित भई काम नगरेमा कानूनी प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् । उनले भने, ‘काम तत्काल नगरे कारबाही गर्नूस् । तत्काल सडक बनाउन नसक्ने हो भने पानी हाल्न लगाउनूस् ।’ सडकमा पानी नहाले व्यवसायीले चक्काजाम गर्ने पनि चेतावनी दिए । योजनाका इन्जिनियर अस्मिता सुवेदीले ठेकेदार कम्पनीलाई तत्काल पानी हाल्न लगाउने बताइन् ।