धरान (ब्लाष्ट) झापाको अर्जुनधारा नगरपालिका–७ जरुवा टोलबाट प्रहरीले हात्तीको बङ्गारा बरामद गरेको छ । 

स्थानीय ४७ वर्षीय तिखबहादुर विश्वकर्माको घरमा हात्तीको बङ्गारा लुकाईछिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसलमा लुकाइएर राखेको हात्तीको बङ्गारा जस्तो देखिने सात इन्च लम्बाइ, १२ इन्च गोलाइ र एक केजी ७९० ग्राम तौल भएको वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सोधपुछ गर्दा उनले सोही ठाउँ बस्ने ५० वर्षीय सावा लिम्बूको घरबाट ल्याई राखेको भनी बताएको हुँदा लिम्बूसमेतलाई नियन्त्रणमा लिई उक्त वस्तु र दुवैजनालाई आवश्यक कारबाहीका लागि शुक्रबार जिल्ला वन कार्यालय झापामा बुझाइएको छ । 

त्यसै गरी गत मङ्गलबार झापाको कचनकवल गाउँपालिका–४ बाट सशस्त्र प्रहरीले अन्दाजी ७८ हजार पाँच सय ६० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट खुट्टामुनि झापाबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३७ डि ७९४० नम्बरको मोटरसाइकलमा भन्सार छली गरेर ल्याउँदै गरेको कपडा बरामद गरेको हो ।