भद्रपुर (ब्लाष्ट) झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर–७ चन्द्रगढीको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष हरिप्रसाद गौतमको सभापतित्व तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको हो । अध्यक्ष गौतमले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक वर्ष २०७९÷८० मा एक करोड दुई लाख ४९ हजार चार सय ६५ रुपैयाँ आम्दानी गरी २२ लाख ८७ हजार एक सय ८१ रुपैयाँ बचत गरेको जनाएको छ । त्यसै गरी चालु आर्थिक वर्ष २०८०÷८१ का लागि एक करोड ७८ लाख १० हजार आम्दानीको लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

कार्यक्रममा उत्कृष्ट बचत, ऋणी, अनिवार्य बचत र एक वर्षे आवधिक बचतकर्ता पुरस्कारमा क्रमशः पुरुषोत्तम पोखरेल, मेरी चौधरी, हीमादेवी कुइँकेल धमला र गोमा पौड्याल घिमिरेलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । त्यसै गरी वर्ष ८३ की हरिकुमारी पोखरेल र ८१ वर्षका विष्णुप्रसाद सिवाकोटीलाई ज्येष्ठ सदस्य सम्मानबाट सम्मानित गरिएको थियो भने कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने विकल्प कोइराला, सुस्मिताकुमारी चौधरीलाई नगदसहित शेयर सदस्य सन्तती पुरस्कार प्रदान गरिएको थियो ।

समितिका उपाध्यक्ष भरत पोखरेलले स्वागत गरेको कार्यक्रममा राष्ट्रसेवक सहकारीका अध्यक्ष वशीष्ठ अधिकारी र प्रादेशिक बचत तथा ऋण सहकारीका अध्यक्ष घनश्याम अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समितिका सहसचिव मीनप्रसाद पोखरेलले गरेका थिए । 

यता संस्थामा रिक्त रहेको सचिव पदमा वर्तमान सहसचिव पोखरेललाई, सदस्य ससिम पोखरेललाई, सहसचिवमा बजार व्यवस्थापन तथा सदस्यता बिस्तार उपसमिति संयोजक ज्वालाप्रसाद निरौलालाई सदस्य पदमा र निरौलाको पदमा विमला गौतम भट्टराईलाई बन्द शत्रले सर्वसम्मत चयन गरी पूर्णता दिएको गठित उपनिर्वाचन समितिका संयोजक विवेक पोखरेलले जानकारी दिए । संस्थामा हाल १३ सय ३३ महिलासहित २४ सय ५२ शेयर सदस्य रहेका छन् । 

संस्थाले ७ वटा एकाइमा विभाजन गरी असोज ६ बाट १२ गतेसम्म एकाइ साधारण सभा सम्पन्न गरी एकाइबाट छनोट भएका शेयर सदस्यबाट मूल साधारण सभा सम्पन्न गरेको संस्थाका व्यवस्थापक आनन्द खतिवडाले जानकारी दिए ।