भद्रपुर । झापाको भद्रपुर नगर क्षेत्रभित्र दुई हजार ७० परिवारलाई निवेदन दर्ता तथा नाप नक्साको निस्सा दिने प्रक्रिया सुरु गरिएको छ ।
राष्ट्रिय भूमि आयोगले भद्रपुर नगरपालिकामार्फत् आइतबारबाट यो प्रक्रिया सुरु गरेको हो । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्लाका तिलकसिं पाण्डे, भद्रपुर नगरप्रमुख गणेश पोखरेललगायतले भद्रपुर वडानम्बर १ र २ बाट छनोट भएका नागरिकलाई निस्सा वितरण गरेका थिए ।
आयोगबाट प्रकाशित सूचनाअनुसार अनुसूची ३ र ४ को भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने परिवारलाई निस्सा वितरण गरिएको थियो । नगरभित्र अव्यवस्थित बसोबास गर्ने १ हजार २८ जना रहेका छन् । यसरी बसोबास गर्नेहरूमा वडा नम्बर १ देखि १० सम्म क्रमशः ४२, १ सय ३१, २ सय ४२, १ सय ४२, १ सय ९, ११, ५१, ३९ र २ सय २७ परिवार रहेका छन् ।
त्यसैगरी भूमिहीन सुकुम्बासीमा ९ सय २ छन् । जसमा १० नम्बर वडासम्म क्रमशः ४०, १८, ६३, ७८, ३ सय १७, ५४, ८७, ६४, ४३, र १ सय ३८ परिवार रहेका छन् भने भूमिहीन दलितमा ९१ परिवार रहेका छन् । विवरणअनुसार वडा नम्बर ३ र ८ मा यो परिवार नरहेको पाइएको छ ।
अन्य वडामा क्रमशः १४, ४, १, ३५, १, २१, ६ र ९ परिवार देखिएको नगरका सूचना अधिकारी नेत्रप्रसाद पोखरेलले जानकारी दिए । उनले यीबाहेक अन्य ४९ परिवार रहेको समेत उल्लेख गरेका छन् । लगभग २९ सय परिवारको निवेदन परेपनि मापदण्डका कारण परिवार सङ्ख्या घटेको उनले बताए । नगरपालिकामार्फत् आयोगमा दर्ता भएका परिवारको धनीपुर्जा प्राप्त गर्ने बाटो खुलेको आयोगका अध्यक्ष निरौलाले बताए । आयोग खारेज भए पनि प्रक्रिया खारेज नहुने उनको भनाइ थियो । आयोगबाट निस्सा पाएपछि उनीहरू खुसी देखिएका थिए ।