धनकुटा । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगका लागि धनकुटाबाट १ लाख ४२ हजार रकम सङ्कलन गरिएको छ । धनकुटा उद्योग वाणिज्य सङ्घ, वितरक सङ्घ र होटल एशोसिएसनले राहत सङ्कलन अभियान चलाएर पैसा उठाएका हुन् ।

तीनवटै संस्थाले बिहीबार धनकुटामा पत्रकार सम्मेलन गरेर पहिलो चरणमा १ लाख ४२ हजार १ सय ४० रुपैयाँ रकम सङ्कलन भएको जानकारी दिएका छन् । सोमबार हिले बजार र मङ्गलबार धनकुटा बजारमा सहयोग सङ्कलन अभियान चलाइएको थियो । अभियानका क्रममा धनकुटा बजारबाट ८० हजार ३५ रुपैयाँ र हिले बजारबाट ६२ हजार १ सय ५ रुपैयाँ रकम सङ्कलन भएको छ । अब धनकुटाका अन्य बजारहरूबाट पनि सहयोग सङ्कलन गरेर सरकारको उद्धार तथा राहत कोषमा रकम जम्मा गरिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राई, वरिष्ठ उपाध्यक्ष तारा तितुङ, सचिव श्रीराम रायमाझी, पूर्वअध्यक्ष लालचन्द गोङ्वा र होटल एशोसिएसनका उपाध्यक्ष डम्बरबहादुर काफ्लेले दुःखमा परेकाहरूलाई सहयोग पु¥याउन रकम सङ्कलन गरिएको भन्दै सङ्कलित रकम एक रुपैयाँ पनि खर्च नगरी पीडितहरूका लागि पठाइने जानकारी दिए । पत्रकार महासङ्घका अध्यक्ष नगेन्द्र राईले सहयोग सङ्कलन गरेर मानवीय धर्म निर्वाह गरेको भन्दै अभियानमा खटिनेहरूलाई धन्यवाद ज्ञापन गरे ।

गत शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १ सय ५३ जनाको ज्यान गएको छ भने ३ सय ६४ जना घाइते भएका छन् । त्यहाँका भूकम्प पीडितहरूलाई विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्ने क्रम चलिरहेको छ ।