छठ पर्वका अवसरमा धरानमा छठ विशेष सांस्कृतिक पर्व आयोजना हुने भएको छ । मैथिली तथा भोजपुरी कलाकारका साथमा धरानमै पहिलो पटक सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रममा छ्ठ पर्वसम्बन्धी सांस्कृतिक गीत, नृत्य तथा झाँकी, सामाचकेवा, झिंझिया, राधाकृष्ण झाँकीलगायत सांस्कृतिक प्रस्तुति दर्शकले हेर्न पाउने छन् । यसका अलावा जनकपुर, भारतको कलकत्ता, पटनालगायतबाट लोकप्रिय कलाकरहरुको साङ्गीतिक प्रस्तुति रहने आयोजक बुढासुब्बा टेन्ट हाउसका प्रोप्राइटर दीपक भगतले जानकारी दिए ।
भगतका अनुसार साङ्गीतिक कार्यक्रममा कलाकारहरु राज शोनी, विष्णु जुनियर पवन सिंह, काजल मलिक, पङ्कज मतवाला, भगवत मण्डल, रानी मन्जितकोरलगायतका चर्चित कलाकारको प्रस्तुति रहनेछ ।
आगामी मङ्सिर १ गते धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा बुढासुब्बा टेन्ट हाउसको मुख्य आयोजनामा साङ्गीतिक कार्यक्रम हुनेछ । कार्यक्रमको प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको छ । पूर्वमा पहिलो पटक धरानमा मैथिली-भोजपुरी साङ्गीतिक धमाका हुन लागेको आयोजकको भनाइ छ ।