चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएका छन्। एसएस फाउन्डेसनद्वारा आज यहाँ आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई सम्मान गरिएको हो।
सम्मानस्वरुप उनले ३१ हजार पुरस्कार प्राप्त गरेका छन्। एरिकाले गत असोजमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ६८ केजी तौल समूहमा नेपाललाई रजतपदक दिलाएका छन् ।एशियाली खेलकुदको इतिहासमा नेपालका लागि एरिकाले तेस्रोपटक रजतपदक दिलाएका छन् । त्यस्तै एशियाली खेलकुदमा नेपालले कराँते खेलमा भने पहिलो रजतपदक जितेको थियो। यसअघि तेक्वान्दो खेलबाट सविता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजतपदक जितेको थियो ।
एरिकाले मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने मनोबलले यो पदक दिलाएको भन्दै यस किसिमको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताएका छन। उनले आगामी दिनमा खेल क्षेत्रमा अझ उत्कृष्ट खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
कार्यक्रममा कराते खेलका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ पनि सम्मानित भएका छन् ।सम्मानस्वरुप उनले ३१ हजार प्राप्त गरेका छन् । नेपाली खेलाडीको रगतमा साहस र वीरताको प्रतिक रहेको भन्दै मार्सल आर्ट खेलले सफलता भित्र्याउँदै आएको बताएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद पशुपति शम्शेर जबराले आमनेपाली जनतालाई तिहार र छठको शुभकामना दिँदै नेपालले अन्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न नसके पनि खेलकुद क्षेत्रमा सफलता हासिल गरेकामा खुसी व्यक्त गरेका। उनले नेपालकी १९वर्षीया एरिकाले सानै उमेरमा यस किसिमको सफलता पाउनु गर्विलो विषय भएको उनको भनाइ थियो ।