धनकुटा । धनकुटामा गतवर्षको तुलनामा मानवअधिकार उल्लङ्घनका घटना वृद्धि भएको तथ्य सार्वजनिक भएको छ ।नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको वार्षिक प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक भएको हो ।
धनकुटामा गतवर्ष ७५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको थियो । यस वर्ष एक सय वटा घटना भएकोमा एक सय तीन जना पीडित भएको इन्सेक प्रतिनिधि ईश्वर थापाले बताए । धनकुटामा यस वर्ष घरेलु हिंसा र बलात्कारका घटनामा वृद्धि भएको उनले जानकारी दिए । इन्सेकको तथ्याङ्कअनुसार ४ जनाकोे हत्या, झडपमा २ जना घाइते, कुटपिट १ जना, मोसो दलेर २ जनामा दुव्र्यवहार, घरेलु हिंसा ७३ जना, ५ बालिकासहित १४ जना बलात्कृत, बाल यौन दुव्र्यवहारबाट १ जना पीडित भएका छन् ।
त्यस्तै बालविवाह १ जना, बोक्सी आरोप १ जना, भौतिक संरचनामा क्षति हुँदा २ पीडित, सार्वजनिक सेवाबाट बञ्चित १ जना र श्रमको हकबाट १ जना पीडित बनेको इन्सेक प्रतिनिधि थापाले बताए । कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेको खण्डमा मात्र मानवअधिकारको रक्षा गर्न सहज हुने बताए । आइतबार आयोजित अन्तरक्रियामा राईले भने, ‘इन्सेकले गरेको अभिलेखीकरणले समाजमा मानवअधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको छ ।’ आर्थिक आर्जनमा जनता नलागेसम्म मानवअधिकार उल्लङ्घन नघट्ने बताउँदै प्रविधिको विकाससँगै आर्थिक विकास भएमा मानवअधिकार उल्लङ्घनका घटना घट्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, जिल्ला समन्वय समितिकी उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल, धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिलकुमार साह, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामालगायतले मानवअधिकार उल्लङ्घनका घटनामा कमी ल्याउन कसको के काम भनेर नै लाग्नुपर्ने बताउँदै सबैको पहल आवश्यक रहेको बताए । उनीहरूले मानवअधिकारको अवस्थाका विषयमा जानकारी दिई यस्ता कार्यक्रमले समाजमा जनचेतना अभिवृद्धि गर्ने दाबी गरे । साथै महिला हिंसाका घटना दिन प्रतिदिन बढेको पाइएकोले तीनै तहको सरकारले महिला हिंसा न्यूनीकरणमा जोड दिनुपर्नेमा उनीहरूले जोड दिए ।