मुलुकको अल्पसङ्ख्यक समुदायभित्र पर्ने झापा, मोरङलगायतका जिल्लामा बसोबास रहेको ताजपुरिया जातिको संरक्षणका लागि सरकारमार्फत योजना अघि बढाइने बताइएको छ ।
ताजपुरिया जातिको विकासका लागि झापा र मोरङको कुनै ठाउँलाई संरक्षित क्षेत्र घोषणा गरी पाउँ भनेर संसदमा दर्ता गराउने प्रतिनिधिसभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
झापाको गौरादह नगरपालिका -१ मा केन्द्रीय कार्यालय रहेको ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवसका अवसरमा आइतबार प्रमुख अतिथि संसदीय सभापति पोख्रेलले ताजपुरिया जातिको कला, संस्कृति, भेषभूषालाई संरक्षण गर्नुपर्ने सविधानमै उल्लेख भएको बताए ।पोख्रेलले ताजपुरिया जातिको विकास तथा संस्कृति जर्गेना गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ताजपुरिया समुदायलाई आधार र तथ्यसहितको डकुमेन्ट समेटेर प्रस्ताव ल्याउनसमेत आग्रह गरे ।
मोरङको रंगेली नगरपालिका ८ स्थित दर्बेसा बजारमा ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा सुनवर्षि नगरपालिकाका नगरप्रमुख श्याम राजवंशीले सन्ततिहरुलाई धन सम्पत्ति जुटाइदियो भने छिट्टै सकिने तर भाषा, संस्कार, संस्कृति सिकाए दीर्घकाल सम्म रहने बताए ।
परिषद्का अध्यक्ष पूर्णलाल ताजपुरियाले ताजपुरिया जातिको संस्कृति जोगाउन यस स्थापना दिवसले थप टेवा पुर्याएको बताए । ताजपुरिया जातिको कला, भाषा, संस्कार, संस्कृति, भेष-भूषाको संरक्षणमा लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा झापा र मोरङबाट प्रतिनिधित्व गरेका टोलीले नटुवा, हुदुरधुरा, ढोलसोनालगायत सांस्कृतिक नृत्य प्रस्तृत गरेका थिए । कार्यक्रममा आजीवन सदस्यहरुलाई सम्मान-पत्र र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न संस्था, स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति थियो ।