धरान । धरान–९ स्थित विष्णु मेमोरियल स्कुलले इटहरीस्थित माया घर नेपाललाई शुक्रबार विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीले स्वेच्छिक रूपमा सङ्कलित रकमबाट लत्ताकपडासँगै, सुन्तला, सागलगायतका सामग्री वितरण गरिएको स्कुलले जनाएको छ । विद्यार्थी, शिक्षक र कर्मचारी गरी कुल ४६ हजार नौ सय पाँच रुपैयाँ बराबरको ३५ केजी सुन्तला, २५ मुठा साग र लत्ताकपडा वितरण गरिएको अभिभावकका प्रतिनिधि देवराज कार्कीले जानकारी दिए । माया घरका सचिव बाबुराम सुवेदीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठलगायतको टोलीले सामग्री दिएको हो । विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निःस्वार्थ सेवा अभिवृद्धि गर्ने अभिप्रायले कार्यक्रम गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।

