इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा यही पुस तेस्रो साता महोत्सव हुने भएको छ। माई नगरपालिका वडा नम्बर –१ र ९ को सङ्गमस्थलमा पर्ने सिमसार क्षेत्रमा पुस १७ देखि २० गतेसम्म तेस्रो तेह्रकुने सिमसार महोत्सव’ हुन लागेको हो।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा महोत्सव हुन लागेको हो। महोत्सवको तयारी तीव्र पारिएको आयोजक समितिका अध्यक्ष करसिंह राईले जानकारी दिएका छन्।
भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि महोत्सव गर्न लागिएको उनले बताए “चुरे क्षेत्रमा संरक्षण गरिएको जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो”, अध्यक्ष राईले भने ।
चार दिनसम्म चल्ने उक्त महोत्सवमा पुरुष र महिला फुटबल प्रतियोगिता, स्थानीय वेशभूषा तथा कला संस्कृतिको प्रदर्शन, सांस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम गरिने छ। महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (खुकुराको मासुको विशेष परिकार) केरा, सिमलको विभिन्न परिकार उपलब्ध गराइने अध्यक्ष राईले बताएका छन्। तेह्रकुने सिमसार क्षेत्रमा २०७८ यता प्रत्येक वर्ष महोत्सव आयोजना गरिँदै आएको छ।