विजयपुर । टेम्पोमा छुटेको एप्पल कम्पनीको आइफोन १४ प्रोम्याक्स मोबाइल टेम्पो चालकले सम्बन्धित यात्रुलाई फिर्ता गरेका छन् ।
बुधबार धरान–१३ स्थित जिरोपोइन्टबाट भानुचोक आउने क्रममा धरान–१० निवासी सञ्चिता याक्खाको मोबाइल टेम्पोमा छुटेको थियो । उक्त मोबाइल टेम्पोचालकले फिर्ता गरेका हुन् । को.१ ह ३०९४ नम्बरको टेम्पो चालक तथा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरान उपमहानगर सचिवसमेत रहेका विकेश श्रेष्ठले करिब २ लाख बराबरको आइफोन मोबाइल फिर्ता गरेका हुन् ।
सङ्गठनले धरानको भानुचोकमा सञ्चालन गरेको सदस्यता विस्तार तथा नवीकरणका लागि शिविरस्थलमा मोबाइल धनी याक्खालाई सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र धरान वडा नम्बर २ का अध्यक्ष रमेश राईको रोहवरमा मोबाइल फिर्ता गरिएको हो । सो मोबाइल टेम्पोको सिटमा छुटेको रहेछ, फोन रिसिभ गरेर फोन धनीलाई भानुचोकमै बोलाएर हस्तान्तरण गरेको चालक श्रेष्ठले बताए । मोबाइल धनी याक्खाले टेम्पो चालक इमान्दार भएकाले मोबाइल भेटिएको भन्दै खुसी व्यक्त गरिन् ।