धरानको भानुचोकस्थित बसपार्कमा सञ्चलित शिविर मार्फत बुधबार र बिहीबार गरी ६० जना यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध भएका छन् ।

कार्यथलोमै पुगेर मजदुरहरुको समस्याबारे छलफल गर्ने र सदस्यता विस्तार र नवीकरण गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियानअन्तर्गत बुधबार २४ जना र बिहीबार ३६ जना गरी ६० जना यातायात मजदुरहरु संगठनमा आवद्ध भएका हुन् ।

बुधबारको शिविरबाट १४ जना नयाँ र १० जना नवीकरण गरी जम्मा २४ जना र बिहीबार सम्पन्न शिविरबाट २१ जना यातायात मजदुरहरुले नयाँ सदस्यता ग्रहण गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए । १५ जना मजदुरले भने आफ्नो सदस्यता नवीकरण गराएका हुन् ।
शिविरमा आएका अधिकांश यातायात मजदुरले सडकका समस्या संगठनका नेतृत्वलाई सुनाउँदै समाधानका लागि प्रयत्न गरिदिन अनुरोध गरेका छन् ।
अभियानमा मजदुरहरुको समस्या सुन्न पहिलो दिन बुधबार धरान २ भानुचोकमा वडाध्यक्ष रमेश राई र दोस्रो दिन बिहीबार धरान उपमहानगरपालिकाका पूर्व उपमेयर तथा नेकपा (एमाले) केन्द्रीय सदस्य मन्जु भण्डारी, यातायात व्यवसायी राजमणी निरौला र समाजसेवी नारायण सुवेदी बसपार्कस्थित शिविरमा मजदुरहरुमाझ उपस्थित भए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष ज्वालाले सबै श्रमिकहरुको गुनासालाई सूत्रबद्ध गरिने र समाधानका लागि सरोकारवालासँग छलफल गरिने बताए । 

संगठन र मजदुरबीचको सम्बन्धलाई बलियो बनाउन र मजदुरहरुको समस्या कार्यथलोमै बुझ्नका लागि यो अभियान सञ्चालन गरिएको संगठन धरानका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । यो अभियान माघको ८ गतेसम्म सञ्चालन हुने र माघको १३ गते संगठनको १५ औं अधिवेशन सम्पन्न गरिने अध्यक्ष भट्टराईले बताए ।